मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौँडा अस्पताल छुट्टाछुट्टै हुनु पर्ने मागसहित हेटौँडावासीले चरणबद्ध रूपमा आन्दोलन तथा हस्ताक्षर सङ्कलन गर्दै आएका थिए। 
हेटौँडा अस्पताल सुधारका लागि पटक पटक ध्यानाकर्षण पत्र बुझाएका अभियन्ताहरूको माग सुनुवाइ नभएको भन्दै गत बुधवार हेटौँडाका अभियन्ताहरूले प्रतिष्ठानको बोर्ड हटाएर हेटौँडा अस्पतालको बोर्ड राखेपछि विवाद चर्किएको थियो।
विवाद चर्किएपछि बोर्ड परिवर्तन गर्नेलाई पक्राउ गर्न प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई निर्देशन दिएको र प्रहरीले विभिन्न राजनीतिका दलका नेतालाई समन्वय गरिरहेको बुझिएको छ।
तर प्रहरीले बोर्ड परिवर्तन गर्ने हेटौडाका सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई सर्वपक्षीय भेला भनी बोलाएर दिनभर होल्ड गराएपछि हिरासतमा राखिएका ती युवाहरू हिरासत भित्रै अनसन बसेका छन्। 
हिरासतमा रहेका ६ जनाले नै हेटौँडा अस्पताल मकवानपुर जनताको अस्पताल भएको दाबी गर्दै आइरहेका छन्। नेपाल तरुण दल हेटौँडा नगर सभापति सुनिल गिरीले आन्दोलन आम मकवानपुरवासीको भएकाले हिरासत कक्षमा समेत अनसन बसेर आन्दोलन गरिरहेको जानकारी दिए।  
सर्वपक्षीय भेला गर्ने बहानामा प्रहरीले उनीहरूलाई अन्तिम समयमा नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयमा राखेको बताइएको छ। प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरिसकेका छन्।