व्यापारीहरूलाई धाक धम्की, अभद्र व्यवहार गरी रकम असुली गर्ने कार्यमा सङ्लन रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
व्यापारीहरूलाई पत्रकार हुँ भन्दै धम्की दिई रकम असुल्ने गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१० घडिअर्वा घर भई हाल वीरगञ्ज–१६ नवगा टोल बस्ने ४५ वर्षीय विष्णु सर्राफलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।
यहाँका व्यापार व्यवसायीलाई पत्रकारिताको आडमा धाक धम्की दिई रकम असुल गर्ने जस्ता कार्य भई रहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बाराको प्रसौनी गण्डक चोकबाट बिहीबार सर्राफलाई पक्राउ गरेको हो।
बारा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितका अनुसार पक्राउ परेका सर्राफमाथि धम्की, अभद्र व्यवहार र रकम असुली गरेको आरोपमा थप अनुसन्धान भइरहेको छ। गैरकानुनी गतिविधिमा संलग्न अन्यको पनि खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
