संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भौतिक विकासका सबै सुख सुविधाहरू आफ्नै हुनुपर्छ भन्ने सोच गलत भएको बताएका छन्।
बिहीबार खप्तडबाबा ज्योति पुरस्कार वितरण तथा सम्मान समारोहमा बोल्दै मन्त्री पाण्डेले भौतिक विकास गलत नभएको तरहेर्ने दृष्टिकोण आत्म केन्द्रित वा स्वार्थ केन्द्रित हुनु गलत भएको बताए। 
उनले भने, ‘भौतिक विकासका सबै सुखसुविधाहरु मेरै हुनुपर्छ भन्ने सोच गलत हो। भौतिक विकास गलत होइन तर भौतिक विकासलाई हेर्ने दृष्टिकोण आत्म केन्द्रित र स्वार्थ केन्द्रित भयो भने त्यो गलत हो। हामी नाङ्गै आएको नाङ्गै जाने वास्तविकता र सत्य त्यही नै हो।’
साथै उनले स्वार्थहरूको पत्रले छोपिँदा छोपिँदा मान्छेले आफ्नो स्वाभाविकता गुमाउँदै गइरहेको बताए। उनले स्वाभाविकता गुमाउँदा नै मान्छेले द्वन्द्व निम्त्याउने गरेको बताए।
उनले भने, ‘कसैले स्वार्थहरूको पत्रले छोपिँदा छोपिँदा मान्छेले आफ्नो स्वाभाविकता गुमाएको हुन्छ। त्यो स्वाभाविकता गुमाउँदा नै मान्छेले द्वन्द्व निम्त्याउँछ। मान्छेले दोराचार निम्त्याउँछ। मान्छेले सौदाचारको बाटो छोड्छ, साम, दाम, दण्ड र भेदको बाटो अवलम्बन गर्छ।’