विराटनगर। उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले बुधवार मोरङको सीमावर्ती जहदा गाउँपालिकामा तीन वटा पुलको उद्घाटन गरेका छन्।
जहदा–२ स्थित जुडी खोलामा निर्मित पुल, कटकरी गाउँपालिका वडा २ र जहदा–४ जोड्ने लोहन्द्रा खोलाको, जहदा गाउँपालिका–७ स्थित भारतीय सीमा जोड्ने लोहन्द्रा खोलमा बनेको पुलको उपप्रधानमन्त्री सिंहले उद्घाटन गरेका हुन्।
पुल उद्घाटनका लागि आएका उपप्रधानमन्त्री सिंहले राष्ट्र हितलाई ध्यानमा राखेर र जनतालाई केन्द्रमा राखेर बिस्तारै काम गर्दै जानुपर्ने बताए। सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षतालगायतका जनअधिकार संविधानसभाबाट आएको संविधानले सुनिश्चित गरेको बताए।
संविधान आइसकेपछि केहीले व्यवस्था परिवर्तन भयो तर हाम्रो अवस्था नै परिवर्तन नभएको गलत भाष्य निर्माण गरिरहेको उनको भनाई छ।
कांग्रेस एमाले सरकार निर्माणको सहमति अनुसार संविधान संशोधनका लागि कार्यदल गठन गरेर सरकारले प्रक्रिया अघि बढाएको सिंहले बताए।