मोरङमा भएको सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

गएराती सुनवर्षीबाट खैरबारीतर्फ आउँदै गरेको प्र१-०२-००३त ०७५२ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश१-०४-००१प ४०११ नम्बरको २२० सिसिको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक मोरङ सुनवर्षी नगरपालिका ३ निवासी ३१ वर्षीय भुपेन्द्र कटुवालको टाउको र दाहिने खुट्टामा गम्भीर चोट लागेको थियो। उपचारका लागि न्युरो अस्पताल विराटनगर लैजाँदा डाक्टरले मृत्यु भएको घोषणा गरेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

प्रहरीले ट्याक्टर चालक सुनवर्षी नगरपालिका ४ निवासी २९ वर्षीय संजित कुमार महतोलाई नियन्त्रणमा लिएको छ। साथै ट्याक्टर र मोटरसाइकल समेत प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।