श्रम तथा रोजगारका क्षेत्रमा सङ्गठित र समन्वयात्मक तवरले कार्य गर्न सरकारले आन्तरिक रोजगार प्रवर्द्धन दशकको रणनीतिक योजना तयार गर्नु परेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले बताएका छन्।
स्वीस कन्ट्याक्स्टको स्टेपअप परियोजनाको समापनमा बोल्दै श्रममन्त्री भण्डारीले नेपाल र नेपालीको समृद्धि नेपाली कै हातमा रहेको हुनाले नयाँ र प्रभावकारी तवरले इमानदारीपूर्वक काम गर्नुपर्ने अवस्था रहेको बताएका हुन्।
रोजगार र आर्थिक विकास एक आपसका परिपूरक रहेको बताउँदै आगामी दशकमा सरकारले श्रमिकको माग सिर्जना, दक्ष श्रमिकको आपूर्ति र आर्थिक विकासको लागि श्रम बजार प्रवर्द्धन गर्ने जस्ता सबै रोजगार शृङ्खलामा श्रम मन्त्रालयले काम गर्ने योजना रहेको बताए।
नागरिकलाई एकीकृत तवरले स्थानीय तहको नेतृत्वमा सबै श्रम तथा रोजगार सेवा प्रवाह हुने गरी तीनै तहको सरकारका साझा नीति तथा रणनीति तयारी अन्तिम चरणमा रहेको जनाए।
संविधानको समन्वय, सहकार्य र सहअस्तित्वको आधारमा स्वीस कन्ट्याक्टको प्राविधिक सहयोगमा निर्मित कोशी सरकारको श्रम संसार डिजिटल पोर्टललाई अन्तर्राष्ट्रिय श्रम दिवस देखी सबै स्थानीय तहमा बिस्तार हुने जानकारी दिँदै मन्त्री भण्डारीले अन्तर तह अन्तर निकाय समन्वय र सहकार्यलाई व्यापकता दिने उल्लेख गरे।
समापन कार्यक्रममा विराटनगर महानगरपालि र दुहबी नगरपालिकाका नगर प्रमुख तथा स्वीस कन्ट्याक्टका प्रतिनिधीहरुले सम्बोधन गरेका थिए।