‘धर्तीको स्वर्ग’ भनेर चिनिने शैलुङ अहिले बेहुली जस्तै बनेको छ।
शैलुङको जङ्गलमा फुलेका विभिन्न जातका गुराँसको कारण शैलुङ रङ्गीचङ्गी बनेको छ। नेपालमा पाइने ३१ प्रजातिका गुराँस मध्ये २१ भन्दा बढी जातका गुराँस शैलुङको जङ्गलमा पाइने स्थानीय दावासङ्बु शेर्पा बताउँछन्।
शैलुङमा लालीगुराँस, चिमल लगायतका विभिन्न जातका गुराँस फुल्ने गर्दछन्। यहाँको जङ्गलमा चैत लागेपछि फुल्ने विभिन्न जातका गुराँस र चिमलले वैशाख महिनाभरि शैलुङको जङ्गललाई ढकमक्क बनाउँछ।
यो सिजनमा शैलुङ घुम्न आउने पर्यटकको लागि गुराँसको फूल मुख्य आकर्षण हो। गुराँसका विभिन्न जातका फूलका साथै प्राकृतिक दृश्यावलोकन गर्न चाहनेको लागि शैलुङ भ्रमणको यो सिजन अति उपयुक्त सिजन हो।
दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङ जान अहिले रामेछाप र दोलखा दुवै तर्फबाट सडक छ। दोलखाको ढुङ्गे, देउराली हुँदै शैलुङ पुग्न सकिन्छ भने रामेछापको दोरम्बा हुँदै खोलाखर्क निस्किएर पनि शैलुङ पुग्न सकिन्छ।
काठमाडौँबाट रामेछापको बाटो प्रयोग गरी शैलुङ जान चाहनेले दुई वटा बाटो प्रयोग गर्न सक्छन्। एउटा काभ्रेको चौँरी हुँदै रामेछापको लखनपुर निस्किएर शैलुङ जान सकिन्छ भने अर्को बिपी मार्गबाट सित्खाको पुल तरेर खाँडादेवी गाउँपालिकाको गोगनपानी निस्किएपछि त्यहाँबाट गाल्पा, दोरम्बा हुँदै शैलुङ पुग्न सकिन्छ।
रामेछापको सदरमुकाम मन्थलीबाट पनि गोगनपानी, गाल्पा, दोरम्बा हुँदै शैलुङ जान सकिन्छ। त्यस्तै, मन्थलीबाट फुलासी, डडुवा कुखुरे आहाल हुँदै दोरम्बा निस्किएर पनि शैलुङ पुग्न सकिन्छ।
धार्मिक हिसाबले शैलुङ हिन्दु र बौद्ध धर्मावलम्बीको संगमस्थल हो। हिन्दुहरू यस क्षेत्रलाई शिवको तपोभूमिको रूपमा लिन्छन् भने बौद्धधर्मावलम्बी बुद्धले पाइला टेकेको ठाउँको रूपमा लिने गर्छन्। किंवदन्ती अनुसार सङ्गेमारमति बुद्धले शैलुङमा आइ तपस्या गरेर ज्ञान प्राप्त गरेका थिए। स्थानीय तामाङ भाषामा थुम्कालाई लुङ भनिने भएकोले सो क्षेत्रमा सय वटा थुम्का रहेकाले शयलुङ हुँदै शैलुङ नाम रहन गएको भन्ने भनाइ छ।
सामुद्रिक सतहबाट ३२ भन्दा माथिको उचाइमा रहेको शैलुङ प्राकृतिक रूपमा बनेका सयौँ थुम्काले सिँगारिएको छ। यहाँबाट देखिने हिमश्रृखलाको दृश्य निक्कै मनमोहक छ।
सडक सञ्जालमा जोडिएपछि अहिले शैलुङ घुम्न आउने पर्यटकको सङ्ख्या पनि बढेको छ। रामेछापको खोलाखार्क, दोलखाको कालापानी लगायतको क्षेत्रमा पर्यटकलाई बस्नको लागि सुविधा सम्पन्न होटेलहरू पनि बनेकाले शैलुङको यात्रा सहज बनेको छ।