मकवानपुरको बकैयामा यात्रुवाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्। बकैया गाउँपालिका वडा नम्बर–३ चिसापानी बजारस्थित धरान–चतरा सडक खण्डमा बस अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०६–००१ ख ०२७० नम्बरको बसमा भीम फेदी गाउँपालिका कृषि तथा पशु शाखाबाट अगुवा कृषक भ्रमणमा रहेका कृषक र प्राविधिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
भ्रमण सकेर फर्किँदै गरेको अवस्थामा गएराती ९ः३० बजेको समयमा चिसापानी बजारस्थित धरान–चतरा सडक खण्डमा सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको घुम्तीमा दुर्घटना भएको उनले बताए। उनका अनुसार दुर्घटनामा बसका चालक सहित ३१ जना सवार रहेको यात्रु घाइते भएका छन्।
दुर्घटनामा मकवानपुर भीम फेदी–३ बुल्मिङ बस्ने वर्ष ४६ को श्रीराम बज्यू, भीम फेदी–५ ज्यामिरे बस्ने वर्ष ५५ की रिता कुमारी मगर, चितवन राप्ति–२ गडौली बस्ने वर्ष २९ को पशुको डा.सरोज ओझा, डा.ओझाको श्रीमती वर्ष २७ की रेश्मा सुवेदी, भीम फेदी–६ टारगाँउ बस्ने भीम फेदी गाउँपालिकाकी कार्यपालिका सदस्य वर्ष ४५ की सुमित्रा लामा, सोही स्थान बस्ने वर्ष ५५ की श्री सानी आले, भीम फेदी–५ अकोटे बस्ने वर्ष २५ को अनिल स्याङबो घाइते भई उनीहरूलाई थप उपचारको लागि भरतपुर पठाइएको प्रवक्ता अर्यालले बताए।
त्यस्तै दुर्घटनामा घाइते भएका मकवानपुर भीम फेदी–२ निगाले बस्ने वर्ष ४५ का दिलिपराज बुलन, भीम फेदी–५ सुपिङ बस्ने वर्ष ५१ को यदुनाथ पुडासैनी, मकवानपुर गढी–३ मक्रान्चुली बस्ने वर्ष ४२ को नारायण प्रसाद शर्मा, हेटौडा–११ थानाभर्याषङ बस्ने वर्ष २९ को उज्ज्वल राना मगरको उपचार पश्चात् डिस्चार्ज गरिएको प्रवक्ता अर्यालले बताए।
त्यसैगरी दुर्घटनामा भीम फेदी–६ भदौरे बस्ने वर्ष ३२ को सुदिप पराजुली, भीमफ्फेदी–२ चौकी डाँडा बस्ने वर्ष २७ को सुयास पाख्रिन, भीम फेदी–९ झिरघारी बस्ने वर्ष २७ को शुभाष रुम्बा, सोही स्थान बस्ने वर्ष ५२ को हितचन्द्र मोक्तान, भीम फेदी–२ का वडा अध्यक्ष वर्ष ४९ को कासीराम बज्युको हेटौँडा स्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रवक्ता अर्यालको भनाई छ।
दुर्घटनामा परेर घाइते भएका हेटौँडा–१८ बस्ने वर्ष २५ को रुबिन घर्ती, भीम फेदी–३ बस्ने वर्ष ५३ को बुद्धिसिंह दोङ, भीम फेदी–८ बस्ने वर्ष ३९ की सिता थिङ, सोही स्थान बस्ने बस्ने वर्ष ३५ कि सूर्य माया घलान, भीमफदी–१ बस्ने वर्ष ५० को करणध्वज पाख्रिन, हेटौँडा–१८ हर्नामाडी बस्ने वर्ष २९ को विमल ढुङ्गाना, भीम फेदी–४ चिउरी बगैँचा बस्ने वर्ष ४० को कृष्ण हरी गाहा मगर, भीम फेदी–७ मान्डु बस्ने वर्ष अं। ३८ को सुजन प्रजा, भीम फेदी–८ गँगटे बस्ने वर्ष ४३ को मान बहादुर लामा, भीम फेदी–१ सानुटार बस्ने वर्ष ४२ को राजेन्द्र कुमार स्याङतान, भीमफेदि गाउँपालिकाको कृषि प्राविधिक वर्ष २९ को सानु कान्छा घिसिङ, भीमफेदि गाउँपालिकाको पशु प्राविधिक वर्ष ३१ को पुष्पलाल बज्यू, भीम फेदी–३ बस्ने वर्ष ४८ को अर्जुन तामाङ, बसका सहचालक उदयपुर रौतामाई–५ बस्ने वर्ष ३२ को सतिह दाहाल उपचार पछि डिस्चार्ज गरिएको प्रवक्ता अर्यालले बताए।
बासका सहचालक दाहाल प्रहरीको नियन्त्रणमा रहेका छन् भने चालक फरार रहेका छन्। फरार रहेका चालकको खोजी भइरहेको प्रवक्ता अर्यालले बताए।