मणिराम दाहाल / सुन्दरहरैंचा
माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित नेपालीरिका हाेटलमा नेपाल ज्याेतिष परिषद काेशी प्रदेश समितिद्वारा आयाेजित नव ग्रह रिसर्च सेन्टर तथा बिज्ञान गृह निर्माण विषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की रहेका थिए । उनले वैदिक ज्योतिष विज्ञान र नवग्रह सम्बन्धी अनुसन्धानको महत्वमा प्रकाश पार्दै यस्ता कार्यक्रमहरूले समाजमा वैज्ञानिक चेतना र आध्यात्मिक समझदारी बढाउने उल्लेख गरे ।
उक्त अन्तरक्रिया कार्यक्रममा ज्योतिष शास्त्रका विद्वान, अनुसन्धानकर्ता, धार्मिक व्यक्तित्वहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा नवग्रह रिसर्च सेन्टर स्थापनाको आवश्यकता, उद्देश्य तथा भावी योजना लगायतका विविध पक्षमा विचार-विमर्श गरिएको समितिका काेशी प्रदेश अध्यक्ष बाबुराम निराैलाले जानकारी दिए । उनले नेपाल ज्योतिष परिषदले अनुसन्धान, ग्रह-नक्षत्रहरूको अध्ययन तथा शास्त्रीय विधिका आधारमा विज्ञ ग्रह निर्माणको तयारीलाई अघि बढाउने लक्ष्य लिएको उल्लेख गरे ।
कार्यक्रमकाे अवसरमा समाजसेवी तथा उद्योगपति भाेलेश्वर दुलाल, ज्याे. विश्वप्रकाश लामिछानेलाई विशेष सम्मान गरिएको थियाे। कार्यक्रममा परिषदका केन्द्रिय अध्यक्ष केशवप्रसाद धिताल , नगर प्रमुख केदारप्रसाद गुरागाई , नयाँ वृद्वावन गाैशालाका संस्थापक संरक्षक दिनबन्धु शास्त्री , काेशी प्रदेश नगरपालिका संघका अध्यक्ष डिपि राई , विश्वज्याेतिष महासंघका अध्यक्ष डा. लाेकराज पाैडेल तथा दक्षिण एसियाली ज्याेतिष महासंघका अध्यक्ष डा. सहदेव विष्ट लगायतले बाेलेका थिए ।
त्यसै गरि कार्यक्रमकाे अवसरमा नेपाल ज्योतिष परिषदद्वारा केन्द्रिय तथा कोशी प्रदेश संयुक्त बैठक तथा नववर्ष शुभकामना आदानप्रदान कार्यक्रम समेत भएको थियाे । नेपाल ज्योतिष परिषदको आयोजनामा केन्द्रिय तथा कोशी प्रदेश समिति बीचको संयुक्त बैठक तथा नववर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हाे ।
कार्यक्रममा नववर्षको अवसरमा एकआपसमा शुभकामना सन्देश आदानप्रदान गर्दै आपसी सहकार्य, ज्योतिष शास्त्रको प्रवर्द्धन तथा अनुसन्धान कार्यमा अझ सशक्त भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरियो ।
संयुक्त बैठकमा परिषदको आगामी योजना, प्रदेशस्तरीय गतिविधि, नवग्रह रिसर्च सेन्टरको प्रवर्द्धन, तथा विज्ञ ग्रह निर्माणको प्रारम्भिक कार्ययोजनाबारे समेत गहन छलफल गरिएको थियो । सहभागीहरूले नेपालमा वैदिक ज्योतिषको वैज्ञानिक आधारमा विकास आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रमको समापनमा आगामी दिनमा प्रदेश तथा केन्द्रबीच अझ सशक्त सहकार्य गर्दै अनुसन्धान, प्रशिक्षण तथा जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखिने निर्णय गरियो।