मोरङ र झापामा चट्याङ लागेर बुधबार दुई जनाको मृत्यु भएको छ।     

गौरादह नगरपालिका–५ बालुबथानमा घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय दूधकुमार लावतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। 

मृतक लावती पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुभोटे स्थायी घर भई हाल झापाको गौरादहमा गोमनाथ चेम्जुङको खेती अधिया गर्दै आएका थिए। 

त्यसैगरी, मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारीमा चट्याङले लागेर १२ वर्षीय आविष्कार बरालको मृत्यु भएको छ। प्रहरीका अनुसार मामाको घरमा पाहुना आएका सुनसरीको इटहरीका विश्वराज बरालका छोरा आविष्कारलाई साइकल कुदाइरहेको अवस्थामा परेको चट्याङले लाग्दा गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट टिचिङ अस्पताल विराटनगर ल्याइएको थियो। चिकित्सकले जाँच गरी उनको मृत्यु भइसकेको घोषणा गरेका थिए।