नेपाली कांग्रेसको संस्थापन इतर समूहले काठमाडौंमा आफ्नै सम्पर्क कार्यालय स्थापना गरेको छ। समूहले नियमित भेटघाट, आन्तरिक समन्वय र रणनीतिक छलफललाई व्यवस्थित बनाउन चुनदेवीस्थित एक घर भाडामा लिएर कार्यालय सञ्चालनको तयारी गरेको हो। इतर समूहका नेता प्रकाशशरण महतका अनुसार कार्यालय सञ्चालनअघि भवनको सरसफाइ तथा आवश्यक व्यवस्थापनको काम भइरहेको छ। उनका अनुसार यसअघि समूहसँग नियमित रूपमा भेटघाट र छलफल गर्न स्थायी स्थानको अभाव थियो।
महतले अब सोही कार्यालयलाई समूहको नियमित सम्पर्क केन्द्रका रूपमा प्रयोग गर्दै राजनीतिक छलफल, समन्वय र आगामी रणनीति तय गरिने बताए। उनले हालका लागि कार्यालय सञ्चालनको आर्थिक व्यवस्थापन इतर समूहका नेताहरूले संयुक्त रूपमा गर्ने सहमति भएको जानकारी पनि दिए। संस्थापन पक्षसँग उठाइएका मागका विषयमा अहिलेसम्म कुनै ठोस प्रतिक्रिया नआएको महतको भनाइ छ। उनले पार्टी सभापति र उपसभापतिबाट यस विषयमा आवश्यक पहल हुनुपर्ने अपेक्षा व्यक्त गर्दै केही समय थप प्रतीक्षा गर्ने र त्यसपछि आवश्यक निर्णय लिएर अघि बढ्ने संकेत गरे। इतर समूहले सातै प्रदेशमा कार्यकर्ता तथा नेताहरूसँगको भेला सम्पन्न गरिसकेको छ। अब राष्ट्रियस्तरको भेला काठमाडौंमा आयोजना गर्ने तयारी भइरहेको भए पनि तत्कालका लागि समूह ‘पर्ख र हेर’को रणनीतिमा रहेको जनाएको छ।




















