नेपाली राजनीतिको केन्द्रविन्दु मानिने कोशी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शानदार उपस्थिति जनाएको छ। 

दशकौंदेखि पुराना दलको किल्ला मानिएका झापा, मोरङ र उदयपुर जिल्लामा रास्वपाले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा क्लिन स्विप गरेको छ।

अहिलेसम्म नतिजा आएका झापाका ५, मोरङका ६ र उदयपुरका २ गरी कूल १३ वटा क्षेत्रमा रास्वपाले ‘क्लिन स्विप’ गरेको हो। 

जनताले यसपटक अनुहार होइन, एजेन्डा र परिवर्तनलाई रोजेका छन्। जसको परिणामस्वरूप पूर्वका यी तीन जिल्लाका सबै सिटमा रास्वपाले शानदार विजय हासिल गरेको छ।

सबैभन्दा ठूलो र रोचक उथलपुथल झापा जिल्लामा देखिएको छ। झापा-५, जहाँबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पटक पटक निर्वाचित हुँदै आएका थिए।  रास्वपाका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले ऐतिहासिक जित निकालेका छन्। बालेनले ६८ हजार ३४८ मत ल्याएर विजयी हुँदा पूर्वप्रधानमन्त्री समेत रहेका ओली १८ हजार ७३४ मतमा सीमित हुनुपर्‍यो। 

झापा ३ मा पनि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई रास्वपाका प्रकाश पाठकले पराजित गरेका छन्। पाठकले ३८ हजार ६७४ मत ल्याउँदा लिङ्देन १७ हजार २९४ मतमा खुम्चिए। 

त्यस्तै, झापा २ मा पूर्वउपसभामुख इन्दिरा राना मगरले ६० हजार ११० मतका साथ शानदार जित दर्ता गर्दा पूर्वसभामुख देवराज घिमिरे ११ हजार ३६८ मतमा रोकिन पुगे। 

झापा १ मा रास्वपाकी निशा डाँगीले ४५ हजार ६८० मत ल्याएर कांग्रेसका केशवराज पाण्डेलाई हराइन्। झापा ४ मा पनि शम्भु प्रसाद ढकालले ४३ हजार ६३१ मत ल्याएर एमालेका एलपी सावालाई पराजित गरे। 

मोरङ जिल्लाको नतिजा झन् रोचक र अप्रत्यासित देखिएको छ। मोरङका ६ वटै क्षेत्रमा रास्वपाले क्लिन स्विप गर्दै कांग्रेस र एमालेको गढ भत्काएको छ। 

त्यस्तै, मोरङ १ मा यज्ञमणि न्यौपाने २७ हजार ३६७ मतका साथ निर्वाचित हुँदा श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामा १७ हजार ५२२ मतमा पराजित भइन् भने कांग्रेस र एमाले जस्ता यसअघिका ठूला दल तेस्रो र चौथो भए।

मोरङ २ मा रास्वपाका कृष्ण कार्की ४० हजार ९२५ मतसहित विजयी भए भने एमालेका दिलीप अग्रवाल १५ हजार ६२४ मतमा सीमित भए। 

क्षेत्र नम्बर ३ मा पनि रास्वपाको लहरलाई कसैले रोक्न सकेन। यहाँ गणेश कार्कीले ३६ हजार ९२४ मत ल्याएर कांग्रेसका नेता डा. सुनिल शर्मालाई पराजित गरे। शर्माले २४ हजार ३५४ मत ल्याए।

मोरङ ४ मा रास्वपाका सन्तोष राजवंशीले ४० हजार ८३३ मत ल्याएर कांग्रेसका महामन्त्री गुरुराज घिमिरेलाई १२ हजार ८१८ मतमा रोके। 

मोरङ ५ मा आशा झाले ३० हजार ४३४ मत ल्याएर कांग्रेसका फूलकुमार लालवानीलाई पराजित गरिन्।

मोरङ ६ मा कांग्रेसका डा. शेखर कोइरालालाई पराजित गर्दै रास्वपाकै रुविना आचार्य निर्वाचित भइन्। आचार्यले ५५ हजार ५१३ मतसहित जित हात पार्दा शेखरले १२ हजार ८५० मत प्राप्त गरे।

त्यस्तै, एमालेका विनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरे। श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले भने ३ हजार ४ सय मत प्राप्त गरेका छन्।

उदयपुर क्षेत्र नम्बर १ मा पारशमणि गेलालले ३० हजार ५९० मत प्राप्त गरी जित हासिल गरे। उनले श्रम संस्कृति पार्टीका राजेश कुमार राईलाई भारी मतान्तरले पराजित गरे।

त्यस्तै, क्षेत्र नम्बर २ मा सूर्य बहादुर तामाङ १४ हजार ८०२ मतका साथ निर्वाचित भए भने एमालेका अम्बर बहादुर रायमाझी ७ हजार ६८४ मतमा रोकिए।