निवर्तमान गृहमन्त्री रमेश लेखकले गत २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको निष्पक्ष, वस्तुनिष्ट, तथ्यपरक र पूर्वाग्रह ढंगले सुक्ष्म अध्ययन गर्न जाँचबुझ आयोगलाई सुझाव दिएका छन्।
तत्कालीन अवस्थामा गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका लेखकले आयोगलाई यस्तो सुझाव दिएका हुन्।
आइतबार आयोगसमक्ष बयान दिएपछि आयोजित पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्ने क्रममा लेखकले यस्तो बताएका हुन्।
‘आयोगलाई पनि मैले निवेदन गरेको छु । आयोगले भदौ २३ र २४ गते भएका घटनाहरूका निष्पक्ष, वस्तुनिष्ट, तथ्यपरक, पूर्वाग्रहरहित ढंगले सम्पूर्ण कुराहरूको विश्लेषण गरेर अत्यन्त सुक्षम ढंगले अध्ययन गरेर आफ्नो प्रतिवेदन तयार गरोस्। सरकारलाई सिफारिस गरोस्,’ उनले भनेका छन्।
उनले आवश्यक परेको खण्डमा फेरि पनि बयानका लागि बोलाउन आयोगलाई भनेको जानकारी पनि गराए।
‘यसले वर्तमान र भविष्यलाई पनि एउटा दिशानिर्देश गरेर म आयोगलाई शुभकामना दिन चाहन्छु। मैले आयोगलाई अझै आवश्यकता पर्यो भने बोलाउनुस् भनेको छु,’ लेखकले थप भने, ‘थप बुझ्नुपर्यो भने, जान्नपर्यो भने, सुन्नुपर्ने भयो भने म आउँछु। किनभने म जवाफदेहीतामा विश्वास गर्छु। प्रश्न उठ्छन् प्रश्नको जवाफ दिनुपर्छ।’



















