नेकपा एकीकृत समाजवादीले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने तयारी गरेपछि यसमा सहभागी नभएका नेताले एमालेमा फर्किने घोषणा गरेका छन्।
अध्यक्ष माधवकुमार नेपाल माओवादीसँग एकता गर्न हिँडेपछि रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेताले समाजवादीसँगको यात्रा सकिएको घोषणा गरेका हुन्।
नेता झाँक्रीले आफूहरू भयानक नै होला भनेर समाजवादीमा गए पनि यात्रा टुङ्गिएको बताइन्। ‘हामी प्रारम्भिक दिनहरूमा भयानकै अभियान चल्छ भन्ने विश्वासले समाजवादीमा लागेका लागेका थियौँ। तर, त्यो अध्याय र अभियान समाप्त भएको छ। पार्टी नै विघटन भएको छ,’ झाँक्रीले भनिन्। उनले आफूहरू एमालेमा जान खोजेको पनि बताइन्।
कम्युनिस्ट पार्टीमध्ये सबैभन्दा बढी लोकतान्त्रिक अभ्यास भएको पार्टी भएकाले फर्किँदा अप्ठ्यारो नहुने उनले बताइन्। एमाले र माओवादी मिसिएपछि लोकतन्त्र सकिएको भन्दै माओवादी र समाजवादी एकता हुँदा पनि त्यही हुने उनले बताइन्।
एमालेमा प्रश्न गर्ने सकिएपछि प्रश्नको उत्तर दिनु नपर्ने अवस्था रहे पनि आफूहरूलाई सोही पार्टीमा जान समस्या नरहेको उनले बताइन्। तर, उनले खुलेर कहिलेदेखि एमाले प्रवेश बताइनन्।
एमालेबाट विभाजन हुँदा माधव नेपाललाई समाएर निर्वाचन आयोगमा पुर्‍याएको फोटोलाई एउटा विम्बको रूपमा लिइदिन उनले आग्रह गरिन्। पार्टी विभाजनको प्रमुख पात्र आफू भएको वा नभएको इतिहासले मूल्याङ्कन गर्ने उनको भनाइ छ।
नेता किसान श्रेष्ठले कुनै पनि बार्गेनिङ नगरी एमालेमा जान लागेको बताए।
‘हामी छलफलमा छौँ। यो टिम कुनै बार्गेनिङ गर्दैन। आफ्नो क्षमताअनुसार भुइँमान्छे भएर काम गर्छौँ,’ श्रेष्ठले भने, ‘एमालेले महाधिवेशन प्रतिनिधिको रूपमा लान्छ कि लाँदैन थाहा छैन। एमालेमा गइसकेपछिको कुरा हो।’
समाजवादीमा रहेका ९ जनामध्ये बहुमत सांसद आफूहरूसँगै रहने पनि उनले बताए।
‘अध्यक्ष माधव नेपालको सांसद पद निलम्बन भएकोबाहेक ९ जनामा  हामीसँग बहुमत सांसद छन्,’ संसद् पुनर्स्थापना भए के होला भन्ने प्रश्नमा उनले भने, ‘समानुपातिकमा २ लाख ९४ हजार भोटमा २ लाख बढी भोट हामीसँग हुनेछ। तलका साथीहरूलाई पनि जोडौँ, आत्मसम्मानका लागि छलफल गरौँ भनेर हामीले यो कार्यक्रम गरेका हौँ।’
पदको कुनै भोक नभए पनि भव्य कार्यक्रम गरेर नेता कार्यकर्तासहित एमाले प्रवेश गर्ने उनले बताए।