विराटनगरबाट धनगढीतर्फ जाँदै गरेको सु.प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोरिक्सालाई शनिवार साँझ ठक्कर दिँदा एउटै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ। घटनामा दुई बालबालिका गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार दुर्घटना धनुषाको गणेशमान चारनाथ नगरपालिका–१, वीरेन्द्र बजार नजिक पूर्व–पश्चिम राजमार्गमा भएको हो।
दुर्घटनामा गणेशमान चारनाथ–१ भरतपुरका ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र अटोरिक्सा चालक अन्दाजी ४० वर्षीय डम्बर राईको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते १४ वर्षीय शीतल मगर र ९ वर्षीय रोशन मगरको जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















