अर्थमन्त्री विष्णु पौडेलले योजना निर्माण र विनियोजनमा गम्भीर समस्यामा रहेको बताएका छन्।
बिहीबार काठमाडौँमा आयोजित नेपालको बजेट कार्यान्वयनमा चुनौती विषयक सार्वजनिक नीति संवाद कार्यक्रममा बोल्दै उनले योजना निर्माण र विनियोजनमा भएको गम्भीर समस्याबाट बाहिर निस्कन कोसिस भएपनि त्यति नै पर्याप्त नभएको बताए।
उनले भने,‘योजना निर्माण मा र विनियोजनमा हामी एउटा गम्भीर समस्यामा छौँ। र त्यो समस्याबाट बाहिर निस्कने कोसिस पनि भएको छ। तर हाम्रो कोसिस अझै पर्याप्त भएको छैन भन्ने मलाई लागेको छ। ’
त्यस्तै उनले यस पटक बैंकभन्दा बाहिरबाट योजना इन्ट्री गर्दैनौँ, तीन करोडभन्दा सानो योजना सङ्घीय सरकारको योजनामा समावेश गर्दैनौँ भन्ने निष्कर्षमा उभिनको लागि धेरै ठुलो चुनौतीको सामना गर्नुपरेको बताए।
अप्ठ्यारालाई चिर्दै वस्तुनिष्ठ,आवश्यकता सापेक्षित र स्रोत सापेक्षित भएर योजना निर्माण गर्नुपर्ने धारणा राखे। साथै स्रोतलाई अत्याधिक प्रतिफल हुने गरी योजनाहरूमा विनियोजन गर्ने ढाँचामा जान आवश्यक रहेको पनि मन्त्री पौडेलले बताए।
उनले भने,‘यस पटक बैंकभन्दा बाहिरबाट योजना इन्ट्री गर्दैनौँ। तीन करोडभन्दा सानो योजना सङ्घीय सरकारको योजनामा समावेश गर्दैनौँ भन्ने त्यो निष्कर्षमा उभिनको लागि धेरै ठुलो चुनौतीको सामना गर्नुपर्यो। त्यस कारण यो अप्ठ्याराबीच हामी छौँ। तथापि यी अप्ठ्यारालाई चिर्दै योजना वस्तुनिष्ठ ढङ्गले निर्माण गर्ने आवश्यकता सापेक्षित,श्रोत सापेक्षित भएर योजना निर्माण गर्ने र त्यो स्रोतलाई अत्याधिक प्रतिफल हुने गरी योजनाहरूमा विनियोजन गर्ने ढाँचामा हामी जानैपर्छ।’