के तपाईँ विदेशमा भ्रमणमा जाँदै हुनुहुन्छ ? विदेश जानका लागि कतै तपाईँले पनि एभरेष्ट बैंकको डलर कार्ड र ट्राभल कार्ड त बनाउनु भएको छैन ? यदि त्यसो हो भने एभरेष्ट बैंकले तपाईँलाई झुक्याउन सक्छ।
त्यसैले एभरेष्ट बैंकले सेवाग्राहीमाथि गर्ने लापरबाहीबाट जोगिनका लागि तपाईँ हामी जोसुकै सचेत हुन जरुरी छ। काठमाडौँकी एक जना सेवाग्राहीले एक महिनाअघि बेलायत भ्रमण जाँदा एभरेष्ट बैंकको लापरबाहीका कारण आफूले निकै दुःख पाएको बताएकी छन्।
उनले बेलायत जानका लागि गत असार २० गते एभरेष्ट बैंकको मुख्य कार्यालय लाजिम्पाटबाट डलर कार्ड र ट्राभल कार्ड बनाएकी थिइन्। सोही अनुरूप बैंकले उनलाई यी दुवै कार्ड उपलब्ध गराएको थियो। अन्तर्राष्ट्रिय अभ्यास अनुसार डलर कार्ड र ट्राभल कार्डको रङ फरक हुनुपर्ने प्रावधान छ, वा कार्डमा नै कुन डलर कार्ड र कुन ट्राभल कार्ड स्पष्टसँग लेख्नुपर्ने हुन्छ।
तर, एभरेष्ट बैंकले यी दुवै कार्डको रङ एउटै राखेको छ। न त बैंकले कार्डमा डलर कार्ड र ट्राभल कार्ड भनेर लेखेको छ। एउटै रङ भएकाले झट्ट हेर्दा यी दुवै कार्ड उस्तै लाग्छन्। डलर कार्ड र ट्राभल कार्डमा सेवाग्राही झुक्किन सक्ने भन्दै बैंककै कर्मचारीले ती सेवाग्राहीलाई छुट्टाछुट्टै कभरमा बाहिर डलर कार्ड र ट्राभल कार्ड भनेर लेखेर दिएका थिए।
बैंकको नियम अनुसार विदेश भ्रमणमा जाने नागरिकले डलर कार्डमा ५०० अमेरिकी डलर र ट्राभल कार्डमा २५०० डलरसम्म राख्न पाउँछन्। सेवाग्राहीले गत असार २४ मा बेलायत जाँदा डलर कार्ड घरमै छोडिन र ट्राभल कार्ड मात्रै बोकेर गइन्। तर, उता गएपछि उनको कार्डले काम गरेन।
‘म युके गइसकेपछि मेरो ट्राभल कार्ड चलेन र मैले बैंकलाई इमेलमार्फत मेरो कार्ड चलेन, मैले यहाँ ट्रान्जेक्सन गर्न सकिन भनेर खबर गरेकी थिए। तर बैंकले मलाई गरेको इमेल अनुसार मेरो ट्राभल कार्डको नम्बर डलर कार्डसँग र डलर कार्डको नम्बर ट्राभल कार्डसँग मिलेको मैले जानकारी पाएँ,‘ उनले भनिन्।  ‘यस हिसाबले मेरो ट्राभल कार्ड घरमै छुटेछ। बैंकको लापरबाहीका कारण मैले विदेशमा सास्ती खेप्नुपयो। यदि त्यो ठाउँमा मेरो कोही आफन्त थिएनन् भने मैले के गर्थे होला ? यस्तो लापरबाहीले कति मान्छे मर्कामा परेका होलान्।’
यस विषयमा बुझ्न एभरेष्ट बैंकमा पटक पटक सम्पर्क गर्दा बैंकका कर्मचारीले कुनै स्पष्ट जवाफ दिन चाहेनन्। बुधवार लाजिम्पाटस्थित बैंकको प्रधान कार्यालयमा सम्पर्क गर्दा बैंकका कर्मचारीले यस विषयमा आफूलाई जानकारी नहुने बताए।
डलर कार्ड र ट्राभल कार्डको बारेमा बुझ्न बानेश्वर शाखामा सम्पर्क गर्न भनेपनि बानेश्वर शाखाका कर्मचारीले यस विषयमा कुरा गर्न चाहेनन्।