रौतहट प्रहरीले हत्याको अभियोगमा पक्राउ गरेको लक्ष्मण पासवानको उपचारको क्रममा मृत्यु भएको छ।
शरीरको आधाभन्दा बढी भाग जलेको अवस्थामा रहेका पासवानलाई कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि पुर्‍याइएको  थियो। 
उनको उपचारको क्रममा बुधवार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उपचारका क्रममा बुधवार साँझ ६ बजेतिर पासवानको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदीप चन्दले बताए।
माधवनारायण नगरपालिका–६ कि २६ वर्षीया रुबिकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले बुधवार बिहान शरीरमा आगो लगाएको अवस्थामा पासवानलाई पक्राउ गरेको थियो। 
माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि बिहान करिब ८ बजे पासवानले आत्मदाह गर्ने लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ। तत्काल स्थानीय अस्पतालमा लगेपनि थप उपचारका लागि बर्न अस्पताल कीर्तिपुरमा लगिएको हो।
पासवानको एक भिडिओ पनि सार्वजनिक भएको थियो। सो भिडिओमा रुबिको हत्या गरेको स्वीकार गरेका छन्। केही दिन अघि गौरको मुडलवा गेट नजिक सुटकेसभित्र रुबिको शव भेटिएको थियो। 
यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।