शिक्षामन्त्री रघुजी पन्तले निजी क्षेत्रले छापिरहेको कक्षा चारको पाठ्यक्रम वा पाठ्यपुस्तक जनक शिक्षा सामाग्रीमा ल्याउन प्रयत्न गरिरहेको बताएका छन्। 

आइतबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले निजी क्षेत्रले कक्षा एकदेखि चारसम्मका पाठ्यक्रम छापिरहेको जानकारी गराउँदै कक्षा चारको पाठ्यक्रम जनक शिक्षा सामाग्रीमा ल्याउन छलफल गरिरहेको बताएका हुन्। 

उनले भने, ‘अहिले प्रचलन के छ भने एक कक्षादेखि चार कक्षासम्मको किताब निजी क्षेत्रलाई छाप्ने अरू किताब चाहिँ जनक शिक्षा सामाग्रीले छापिरहेको छ। त्यहाँ हामीले छलफल गरिरहेका छौ। एक, दुई, तीन, चारमा चार कक्षा चाहिँ सरकारमा ल्याऔँ । एक, दुई, तीन चाहिँ उनीहरूको नघटाई दिऊ।’

मन्त्री पन्तले पहिले जनक शिक्षाले छाप्न नसक्दा निजी क्षेत्रले छापिरहेको र उनीहरूले मेसिनहरूको आपूर्ति गरिरहेको भन्दै यसमा केही जटिलता आए मन्त्रालयमा छलफल गरिने समेत बताए।