मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरस्थित पूर्व–पश्चिम सडकखण्डमा शनिवार साँझ भएको सवारी दुर्घटनामा एक महिलाको ज्यान गएको छ।
मकवानपुर प्रहरीका अनुसार रातोमाटेबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०२–०४५ प ५५९७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०३–००५ प ९०६९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा  वीरगञ्ज महानगरपालिका–१३, मुर्ली बस्ने वर्ष ४८ का प्रवीण श्रेष्ठ घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। तर, सोही मोटरसाइकलमा पछाडि सवार उनकी श्रीमती वर्ष ४३ की कविता जोशी श्रेष्ठ भने दुर्घटनामा परेर थप गम्भीर घाइते भएकी थिइन्।
दुर्घटनामा परेकी कविता जोशी श्रेष्ठ हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको ना।७ ख ५०१० नम्बरको यात्रुवाहक बसमा समेत ठोक्किएकी थिइन्। उनलाई तत्कालै उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा साँझ करिब ५ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनापछि घटनास्थलमा प्रहरी टोली खटिएको थियो। दुवै मोटरसाइकल, दुर्घटनामा संलग्न बस तथा बस चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको जनाएको छ।