इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाँजामा रहेका सबै बन्धकहरूको रिहाइका लागि वार्ता सुरु गर्ने घोषणा गरेका छन्। साथसाथै, उनले गाजाको उत्तर क्षेत्रमा रहेको गाँजा सहरमा इजरायली सेनाको ठुलो कारबाही गर्ने योजना पनि स्वीकृत गरिएको बताएका छन्।
बिहीबार राति गाजाको लागि जिम्मेवार सैन्य मुख्यालयको भ्रमणका क्रममा नेतान्याहुले भने, ‘हामीले गाँजा सहर नियन्त्रणमा लिन र हमासलाई परास्त गर्न इजरायली सेनालाई योजना अघि बढाउन अनुमति दिएका छौँ। यससँगै बन्धकहरू छुटाउने काम पनि अघि बढ्नेछ।’
तर, नेतान्याहुले कतार र इजिप्टको मध्यस्थतामा प्रस्तावित ६० दिने युद्धविराम सम्झौतालाई भने अस्वीकार गरेका छन्। उक्त प्रस्तावमा गाजामा रहेका बाँकी बन्धकमध्ये आधालाई रिहा गरिने उल्लेख गरिएको थियो।
यसअघि हमासले नेतान्याहुलाई मध्यस्थकर्ताहरूको प्रस्ताव अस्वीकार गर्दै सम्झौतालाई अवरोध पु¥याएको आरोप लगाएको थियो।
इजरायली अधिकारीहरूका अनुसार गाजामा रहेका ५० बन्धकमध्ये करिब २० मात्र जीवित रहेको विश्वास गरिएको छ। यसबीच, बिहीबार इजरायली सेनाले गाँजा सहरका पूर्वी क्षेत्रहरूमा तीव्र बमबारी गरेको जनाइएको छ।
इजरायली सेनाले गाँजा सहरका करिब १० लाख बासिन्दालाई दक्षिणतर्फ सर्न चेतावनी दिँदै अन्तर्राष्ट्रिय संस्थाहरू तथा स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा रहन भनेको छ। गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भने यस्तो कदमले बाँकी स्वास्थ्य प्रणालीलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी दिएको छ।