मोरङको रतुवामाई नगरपालिका–४ आमबारी चोकबाट चोरी भएको मोटरसाइकल प्रहरीले झापामा फेला पारेको छ। चोरीमा संलग्न दुई युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मोरङकी पुष्पमाया खतिवडाले घरको कम्पाउण्डमा पार्किङ गरी राखेको को ३० प ९६७७ नम्बरको मोटरसाइकल साउन ३० गते राति १२ बजे चोरी भएको थियो। उक्त मोटरसाइकल झापा जिल्लाको भद्रपुरतर्फ लैजाइरहेको भन्ने विशेष सूचनाको आधारमा भदौ २ गते दिउँसो २ बजे प्रहरी टोलीले भद्रपुर नगरपालिका–५ मेचीपुलस्थित चेकपोष्टमा चेकजाँच गर्ने क्रममा फेला पारेको हो।
प्रहरीका अनुसार मोटरसाइकलमा झापाको गौरीगन्ज गाउँपालिका–५ का २० वर्षीय रोम भन्ने प्रकाश यादव र विर्तामोड नगरपालिका–१ का २० वर्षीय ओम प्रकाश खडका सवार रहेका थिए।
उनीहरू उक्त मोटरसाइकल नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ परेका हुन्। प्रहरीले पक्राउ परेका यादव र खडकालाई आवश्यक कारबाहीका लागि मोरङको इलाका प्रहरी कार्यालय सिजुवामा पठाएको जनाएको छ।