झापामा स्थानीयले रुखमा बाधेका व्यक्ति मृत फेला परेका छन्। मंगलबार राति करिब साढे १० बजे झापा गाउँपालिका- १ लसुनामा आँपको रुखमा बाधेका स्थानीय ६० वर्षीय जतन सोरेन बुधबार बिहान मृत फेला परेका हुन्।

अत्याधिक मदिरा सेवन गरेका सोरेनलाई मंगलबार राति स्थानीयले आँपको रुखमा बाँधेका थिए। बुधबार बिहान करिब ४ बजे उनी बाँधेकै अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

प्रहरीका अनुसार राति छिमेकी महादेव टुडुको घर छेउ पुगेर काम्न थालेपछि महादेवसहित स्थानीयले घर छेउमा रहेको आँपको रुखमा प्लाष्टिकको डोरीले बाँधेर छाडेका थिए। बुधबार बिहान करिब ४ बजे उठेर हेर्दा मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए।

घटनापछि प्रहरीले अनुसन्धानका लागि मृतकको छोरा २७ वर्षीय अनतलाल सोरेन, सोही स्थानका ५० वर्षीय महादेव टुडु, २० वर्षीय लुखिराम टुडु, २१ वर्षीय लखिराम टुडुलाई पक्राउ गरेको छ। अन्य फरार छन्। फरारको पनि खोजी भइरहेको प्रहरीले बताएको छ।