उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले धुलो र हिलो रहित सडकको परिकल्पनालाई व्यहारिकरुपमा सार्थक तुल्याउन काम गरिरहेको बताएका छन्।
बुधबार काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ उद्घाटन गर्दै गुणस्तरीय सडकका साथै सहरी पूर्वाधारमा सरकारले विशेष ध्यान दिएको उनले बताए।
पौडेलले धुलो र हिलोरहित सडकको परिकल्पनालाई व्यहारिक रुपमा सार्थक तुल्याउन सरकार लागि परेको धारणा राखेका छन्।
सडक निमार्णको सिलसिलामा गुणस्तरमा पनि जोड दिइरहेको उनले बताए। अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षको बजेटमा सडकको गुणस्तर सुनिश्चित गर्ने हिसाबले भू–बनोटको आवश्यकताअनुसार आरसीसी कस्ट्रक्सनमा ध्यान दिएको जिकिर गरे।
भृकुटीमण्डपमा साउन २५ गतेसम्म आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ५० भन्दा बढी ब्राण्ड, १५ वटा दुई पांग्रे, १५ वटा चार पांग्रे, र ५ वटा कमर्सियल सवारी साधनसहित ३५ नयाँ सवारी साधनहरू सार्वजनिक गरिने भएको छ।