नेपाली काङ्ग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले गठबन्धन सरकारको सफलता फरक मतहरूको बीचमा साझा मतबाट बन्ने बताएका छन्।
मङ्गलवार काठमाडौँमा आयोजित ४३औँ बिपी कोइराला स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले एउटै दलभित्र दुई तीन वटा विचारहरू हुन्छन् भने दुई वटा पृष्ठभूमिबाट आएका पार्टीबीच फरक विचार हुनु स्वाभाविक भएको भन्दै नेपाली काङ्ग्रेस र नेकपा एमाले फरक मतको बीचमा साझा मतको खोजी गर्नुपर्ने बताए।
उनले भने, ‘अहिले परिस्थितिको जटिलताको बीचबाट एउटा गठबन्धनको सरकार बनेको छ। यो सरकारको सफलता फरक मतहरूको बीचको साझा मतबाट बन्ने हो। एउटै दलभित्र पनि दुई तीन वटा विचारहरू हुन्छन् भने स्वाभाविक कुरा हो दुई वटा पृष्ठभूमिबाट आएका नेपाली काङ्ग्रेस र नेकपा एमालेको बीचमा प्रतिस्पर्धा पनि छ, सहकार्य पनि छ, फरक मत पनि छ र यसको बीचमा साझा मतको खोजी गर्नु छ।’ यस्तै, उनले अहिले दुई पार्टीबीच उत्पन्न हुँदै गरेका समस्या दुई वटा कुराको सन्दर्भमा प्रधानमन्त्रीले गम्भीर हुनुपर्ने बताए।
उनले भने, ‘अहिले हाम्रो बीचमा उत्पन्न हुँदै गरेका समस्या दुई वटा कुराको सन्दर्भमा छ। यो दुइवटै कुराको हल हाम्रो आग्रहलाई केन्द्रमा राखेर प्रधानमन्त्रीले गम्भीरता राख्नुपर्छ। एउटा कुलिङ पिरियडको जुन विषय थियो यसमा जो दोषी छ त्यसलाई कारबाही गर्नुपर्छ।’ साथै, भूमि विधेयकको सन्दर्भमा अलि बढी हतार गर्न खोजिएको र प्रधानमन्त्रीको पनि समर्थन रहेको हो कि भन्ने खालका बुझाइलाई पनि प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ।
उनले भने, ‘भूमि विधेयकको सन्दर्भमा अलि बढी हतार गर्न खोजिएको, मन्त्रीले हतार गर्न खोजेको त्यसमा प्रधानमन्त्रीको पनि समर्थन रहेको हो कि भन्ने खालका बुझाइलाई प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुपर्छ। भूमि विधेयक पारित हुनुपर्छ तर पारित गर्ने भन्दै गर्दा हतारमा ल्याएर हुँदैन। गहन छलफल गरेर गर्नुपर्छ।’ उनले बिपी कोइरालाले मेलमिलापको नीति ल्याएपछि राजसंस्थाको प्रतिनिधिका रूपमा राजा र लोकतन्त्रको प्रतिनिधिका रूपमा आफूलाई राखेर राजा र मेरो गर्धन जोडिएको छ भन्ने कुरालाई अपव्याख्या दरबारले नगरेको भए, आज नागार्जुनको डाँडामा बसेर यो लोकतान्त्रिक गणतन्त्रलाई हेरिराख्नु पर्ने अवस्था नेपालको राजसंस्थाको नआउने बताए।
उनले भने, ‘बिपी कोइरालालाई जति छिटो र नजिकबाट बुझ्न सकिन्छ। त्यति छिटो देशको प्रगतिलाई सहज बनाउन सकिन्छ। बिपीलाई चिन्ने कुरामा नेपालको भिन्न भिन्न शक्तिहरूबाट कमजोरी भएको छ। नेपालका राजाहरूले पनि उहाँ बुझ्नलाई गरेको कमजोरी अर्को पाटो छ। बिपीले मेलमिलापको नीति ल्याएपछि राजसंस्थाको प्रतिनिधिका रूपमा राजा र लोकतन्त्रको प्रतिनिधिका रूपमा आफूलाई राखेर राजा र मेरो गर्धन जोडिएको छ भन्ने कुरालाई अपव्याख्या दरबारले नगरेको भए आज नागार्जुनको डाँडामा बसेर यो लोकतान्त्रिक गणतन्त्रलाई हेरि राख्नुपर्ने अवस्था नेपालको राजसंस्थाको नआउन सक्थ्यो।’