आकर्षक रोजगारीको झुठो आश्वासनमा भारतको उत्तराखण्डस्थित काशीपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवक संभवत मङ्गलवार नेपाल फर्काउने तयारी गरिएको छ।
गत बिहीबार नेपाली राजदूतावास, भारतीय प्रहरी र केन इन्डिया नामक सामाजिक संस्थाका निर्देशक नवीन जोशीको अगुवाइमा ती नेपालीहरूको उद्धार गरिएको थियो।
निर्देशक जोशीका अनुसार अदालती र प्रशासनिक प्रक्रिया पूरा गरेर उनीहरूलाई सकुशल नेपाल ल्याउने तयारी भइरहेको छ। ‘एक महिनासम्म निरन्तर खटिएर ठुलो हिम्मत र साहसका साथ ३५ नेपालीलाई उद्धार गर्न सक्षम भएका छौँ। नेपालीलाई फसाउने गिरोहमध्ये एक नेपाली र दुई भारतीयलाई पक्राउ गरिएको छ र थप अनुसन्धान जारी छ,’ निर्देशक जोशीले भने।
पीडितहरूलाई विभिन्न जिल्लाबाट झुक्याएर भारत पुर्याई बन्धक बनाइएकै अवस्थामा कुटपिट, यातना र आर्थिक शोषण गरिएको थियो। पीडित मध्येका इलामको महमाइ–८ का सौगात काफ्लेका अनुसार एक जना वीरेन्द्र शाही भन्ने व्यक्तिले आफ्नो अङ्कलको फेक आइडी बनाएर महिनाको ३८ हजार दिन्छु भनेर काशीपुरमा ल्याएर फसाएको बताए।
‘मैँले केही थाहा पाइन मेरो दिनेश अङ्कलको फेक आइडी बनाएको रहेछ। अंकलले नै भनिसकेपछि राम्रो पैसा कमाइने रहेछ भनेर पैसा बुझाएर आएँ । लगभग चार लाख ऋण नै लाग्यो। विश्वासमा परेर यता आइयो तर फसियो,’ उनले भने,‘यता रहनुभएको अकंलसँग भेट पनि भएन। खानेकुरा पनि सुरुमा चिकन –मटन दिने र राम्रो काम लगाइदिने भनियो। तर विभिन्न बहानामा कोठा थुनेर राखियो। यातना दिइयो। खानेकुरा पनि आलु, बेसार–पानी दिइयो। ज्यादै दुःख पायौँ।’
घटनाको जानकारी पाएपछि परराष्ट्र मन्त्रालयको निर्देशनमा दूतावासले उत्तराखण्ड प्रहरीले स्थानीय सामाजिक संस्था केन इन्डियाको सहयोगमा असार ५ गते उनीहरूको उद्धार कार्य सम्पन्न गरेको थियो।
केन इन्डियाका निर्देशक जोशीका अनुसार गिरोहले सोझा नेपालीहरूबाट ४० देखि ७० हजार रुपैयाँसम्म असुल्ने गरेको बताए। ‘यसरी गलत व्यक्ति र मानव तस्करहरूमार्फत महिनामा ५० जना नेपालीहरू भारतका विभिन्न ठाउँमा पुर्याइने गरेको हामीले पत्ता लगाएका छौँ,’ उनले भने।
जोशी विगत डेढ दशकदेखि भारतको दिल्लीमा बसेर मानव बेचबिखनविरुद्धको अभियानमा सक्रिय रहँदै आएका छन्। नेपालका गाउँहरूबाट भारतका विभिन्न सहर र तेस्रो मुलुक जाने क्रममा दलालबाट ठगिएका, बेचिएका वा अलपत्र पारिएकाहरूलाई जोशीको नेतृत्वको संस्थाले उद्धार गर्दै आइरहेको छ।