जनकपुरधामस्थित रामसागर राम स्वरूप बहुमुखी (राराब) क्याम्पसमा पुनः विवाद उत्पन्न भएको छ। आजदेखि सुरु भएको बीबीएस तेस्रो वर्षको परीक्षाको प्रवेश पत्र वितरणमा ढिलाइ गरिएपछि उत्पन्न विवादले उग्र रूप लिएको छ।
केही विद्यार्थीहरूको प्रवेश पत्र क्याम्पसमा नभेटेपछि, विद्यार्थीहरूले स्ववियु सभापति मनिष यादवलाई जानकारी गराएका थिए। यादवले क्याम्पस प्रमुख वसन्त कर्णलाई प्रवेश पत्रबारे सोध्दा उनले गैरजिम्मेवारीपूर्वक जवाफ दिएको विद्यार्थीहरूको आरोप छ।
क्याम्पस प्रमुखको जवाफले आक्रोशित बनेका विद्यार्थीहरूले क्याम्पस प्रमुखसँग विवाद गर्न लागेपछि प्रमुखले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा विद्यार्थीहरूलाई गालीगलौच गरेको विद्यार्थीहरूको आरोप छ। त्यसपछि विवादले झन् उग्ररुप लिएको थियो। सो क्रममा केही प्रहरी पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले स्ववियू सभापति मनिष यादव र नेता चमनप्रसाद गोइतलाई पक्राउ गरेको छ। धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहका अनुसार, प्रहरीले विवाद साम्य पार्न खोज्दा विद्यार्थी नेताहरूले अभद्र व्यवहार गरेपछि पक्राउ गर्नु परेको हो।
पक्राउको विरोधमा विद्यार्थीहरूले क्याम्पस चोकमा सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए। अहिले जिल्ला प्रशासन कार्यालय अगाडी विद्यार्थीहरूले प्रदर्शन गरिरहेका छन्। विद्यार्थीहरूले पक्राउ परेका विद्यार्थी नेताहरूको तत्काल रिहाइको माग गरेका छन्।
यता क्याम्पस प्रमुख वसन्त कर्णले प्रवेश पत्र काठमाडौँबाटै आउन ढिलाइ भएकाले प्रवेश पत्र बाँड्न अबेर भएको प्रतिक्रिया दिएका छन्।