सिरहाको गोलबजारमा प्रेम सम्बन्धमा रहेका युवक र युवतीबीचको विवाद हिंसात्मक बन्दै गएपछि एक युवतीले आफ्नै प्रेमीमाथि छुरा प्रहार गरेकी छिन्।
छुरा प्रहारबाट घाइते भएका युवक २४ वर्षीय अशोक कुमार महतो हुन्, जो गोलबजार नगरपालिका–१३ का स्थायी बासिन्दा हुन् र हाल गोलबजार–४ मा भाडाको कोठामा बस्दै आएका थिए। घटना गोलबजार–४ मा रहेको दिनेश साहको घरको कोठामा भएको बताइएको छ।
प्रहरीका अनुसार, युवती अचानक कोठामा पुगेकी थिइन् र अशोकमाथि छुरा प्रहार गरेपछि आफैँ घरको छतबाट हामफालेर भाग्न खोजेकी थिइन्। हामफाल्दा उनी पनि घाइते भएकी छन्। अशोकको उपचार गोलबजारस्थित भूमिजा अस्पतालमा भइरहेको छ भने युवती पनि सामान्य घाइते भएकी छन्।
स्थानीयहरूका भनाइ अनुसार ती युवक–युवतीबीच पहिलेबाट नै प्रेम सम्बन्ध थियो, तर पछिल्लो समय उनीहरूबीच झगडा बढ्दै गएको बताइएको छ।
हाल युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको छ। घटनाको पछाडि के कारण थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ।