प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश विराटनगर तथा  नेपाल प्रहरी राजमार्ग  सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको आयोजनामा सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणको लागी प्रदेश स्तरीय ट्राफिक सप्ताह २०८२ को भव्यताका साथ शुभारम्भ भएको छ। असार ६ गते विराटनगर स्थित महेन्द्र चोकबाट प्रभात फेरी र्‍याली सुरु भई विराटनगरको सिटी हलमा पुगी एक कार्यक्रमको आयोजना बिच ट्राफिक सप्ताहको शुभारम्भ भएको हो। निमित्त कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीको अध्यक्षता तथा कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा  शुभारम्भ भएको ट्राफिक सप्ताह कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले पानसमा दीप प्रज्वलन गरेर बिधिवत रूपमा कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो। उक्त कार्यक्रममा वहाँले सचेतना मूलक श्रव्य दृश्य सामाग्री “सुरक्षित यात्रा” को औपचारिकरुपमा अनावरण गर्नु का साथै सार्वजनिक यात्रु वाहक बसमा यात्रुहरूको गुनासो तथा सुझावको लागी क्युआर कोडको स्टिकर समेत टाँस गर्नु भएको थियो।
उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि कार्कीले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनमा सबै क्षेत्रको उत्तिकै साथ र सहयोग रहेमा दुर्घटना न्यूनीकरणमा थप सहजता हुनेमा विश्वास व्यक्त गर्नुका साथै विद्यालय स्तरमा नै ट्राफिक सचेतना प्रदान गर्न सकिएमा दिर्घकालिनरुपमा सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने बताउनु भयो। साथै वहाँले ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणमा उल्लेख्य योगदान पुर्‍याउनु हुने महानुभावहरूलाई योगदानको उच्च कदर गर्दै  प्रशंसा पत्र प्रदान गरी सम्मान गर्नु भएको थियो।
3 1कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणका लागी ट्राफिक प्रहरीलाई आवश्यक श्रोत साधन उपलब्ध गराउन कोशी प्रदेश सरकार तत्पर रहेको बताउँदै सवारी दुर्घटना न्यूनीकरणमा प्रदेश स्तरीय ट्राफिक सप्ताहले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो।
यसै गरी मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले ट्राफिक सप्ताहको शुभकामना सहितको मन्तव्य राख्नु भएको थियो भने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक सन्तोष श्रेष्ठले स्वागत मन्तव्य राख्नुका साथै ट्राफिक सप्ताहको औचित्य माथि प्रकाश पार्नु भएको थियो। कार्यक्रममा कार्यक्रमका अध्यक्ष तथा निमित्त कोशी प्रदेश प्रहरी प्रमुख गोबिन्द्र अधिकारीले ट्राफिक सप्ताहको सफलताको शुभकामना सहित धन्यवाद मन्तव्य व्यक्त गर्नुका साथै सवारी दुर्घटना न्यूनीकरणको लागि प्राप्त श्रोत र साधनको उच्चतम प्रयोग गरी आम नागरिक र सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गर्दै प्रदेशको ट्राफिक व्यवस्थापन प्रभावकारी  बनाउने विश्वास व्यक्त गर्नु भयो।
कार्यक्रममा कोशी प्रदेशका माननीय सामाजिक विकाश मन्त्री पाँचकर्ण राई, खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री एकराज कार्की, आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव राम प्रसाद आचार्य, पूर्वी पृताना हे.क्वा. सुनसरीका सहायक रथी गौरव कुमार रेग्मी, सशस्त्र प्रहरी बल बराहबाहिनी पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने, राष्ट्रिय अनुसन्धान कार्यालय धरानका अनुसन्धान निर्देशक इन्द्र सिं लामा लगायत  प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रहरी अधिकृत तथा प्रहरी कर्मचारी, पूर्व प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधि, ‍यातायात व्यवसायीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू,सञ्चारकर्मीहरू, नागरिक समाज, सङ्घ संस्थाका प्रतिनिधिहरू, विभिन्न विद्यालयका शिक्षक तथा बिद्यार्थीहरु समेतको उपस्थिति रहेको थियो।
सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि आजकै  मितिबाट एकैसाथ कोशी प्रदेशका १४ वटै जिल्लाहरूमा ट्राफिक सप्ताह २०८२ को शुभारम्भ भएको छ भने एक साता सम्म जिल्लाहरूमा विभिन्न  ट्राफिक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी ट्राफिक सप्ताह सम्पन्न हुने छ।