सुनचाँदी व्यवसायीले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका छन्। 
सुन तथा सुनका गहनामा सरकारले पटक पटक लगाएको २ प्रतिशत विलासिता कर र हित तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याटको विरुद्धमा सुनचाँदी आन्दोलित बनेका हुन्। 
सुनचाँदी व्यवसायी सङ्घ र महासङ्घहरूले सङ्गठित रूपमा आन्दोलनका कार्यक्रमहरूलाई निरन्तरता दिएका हुन्। 
सरकारले बजेटमार्फत सुन, चाँदी, हिरा, र अन्य बहुमूल्य पत्थरहरूलाई विलासी वस्तुमा राखेर मूल्य अभिवृद्धि कर (भ्याट) र अन्य शुल्कहरू लगाउने प्रस्ताव गरेको निर्णयको विरोधमा व्यवसायीहरू विगत केही दिनदेखि सडक केन्द्रित आन्दोलनमा थिए।
आन्दोलनकै सिलसिलामा मङ्गलवार पनि उनीहरूले काठमाडौँको न्यूरोड र वसन्तपुर क्षेत्रमा कालो ब्यानरसहित प्रदर्शन गरे। मङ्गलवार भक्तपुरका सुनचाँदी व्यवसायीहरू न्यूरोड पुगेर प्रदर्शन गरेका हुन्।
भक्तपुर सुनचाँदी व्यवसायी सङ्घका कार्यवाहक अध्यक्ष बिजेन शाक्यले परम्परादेखि गर्दै आएको सुनचाँदी व्यवसायलाई भ्याट र कर अन्यायपूर्ण भएकाले खारेजीको मागसहित सडकमा आउनुपरेको प्रतिक्रिया दिए। 
उनले भने, ‘हामीले गरिरहेको कार्यक्रम चाहेर गरेको होइन। परम्परादेखि गर्दै आएको सुनचाँदी व्यवसायलाई भ्याट र कर लगाएर अन्याय गरियो। जन्मदेखि मृत्युसम्म चाहिने सुनमा जुन कर लगाएको छ त्यो अन्यायपूर्ण नै हो।’ 
यस्तै, भक्तपुर सुनचाँदी व्यवसायी सङ्घको सल्लाहकार साक्यन शाक्यले सुनलाई विलासिताको वस्तुमा राख्ने कुरा मान्य नभएको भन्दै हटाउनुपर्ने माग राखे। 
उनले भने, ‘सरकारले आर्थिक वर्ष २०८२।८३ मा सुनलाई विलासिता वस्तु भनेर २र२ प्रतिशत गरेर तीन तहमा ६ प्रतिशत थप कर लगाउने र रत्न पत्थरजन्य वस्तुमा १३ प्रतिशत भ्याट लगाउनु असान्दर्भिक छ। कर नीतिका विरुद्धमा हामी आज मौन जुलुसका साथ न्यूरोडमा आएका छौ। सुनलाई विलासिताको वस्तुमा राख्ने हामीलाई मान्य नभएको हुनाले यसलाई हटाउनुपर्छ।’