इजरायलले इरानमाथि गरेको आक्रमण र इरानको प्रतिक्रियाले सुरुमा विश्वव्यापी वित्तीय बजारमा हलचल ल्याएको थियो। जसका कारण आइतबार खाडी लगायतका केही मुलुकका शेयर बजारहरूमा ठुलो मात्रामा गिरावट आएको थियो। युद्ध तत्काल रोकिने कुनै सङ्केत नभएकाले शेयर बजारमा गिरावट आएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयर्टसले जनाएको छ।
इजरायले इरानमाथि आक्रमण गर्ने घोषणा गरेदेखि नै तेलको मूल्य बढको थियो। बीबीसीका अनुसार शुक्रवार बिहान इजरायलले इरानको आणविक केन्द्रमा आक्रमण गरेपछि विभिन्न कम्पनीले १० प्रतिशतभन्दा धेरैले तेलको मूल्य बढाएका थिए।
व्यापारीहरूले इरान र इजरायल बीचको द्वन्द्वले इरानी तेल आपूर्तिलाई बाधा पुर्‍याउन सक्ने चिन्ता व्यक्त गरेका छन्। कच्चा तेलको मूल्यमा भएको वृद्धिले खाद्यान्नको मूल्यदेखि गाडीको इन्धनको लागतसम्म सबै कुरालाई असर गर्ने बताइएको छ।
बिबिसीका अनुसार यद्यपि दुई देशहरू बीचको एक सप्ताहान्तको मिसाइल र ड्रोन आक्रमण पछि कच्चा तेलको मूल्य फेरि घटेको छ। तर पनि, तेलको मूल्य एक महिना अघिको भन्दा १० अमेरिकी डलरले बढी छ र ऊर्जाको मूल्यमा वृद्धिले बेलायत लगायत विश्वभर पेट्रोल र खाद्यान्नसम्म सबै कुरा महँगो बनाउन सक्ने त्रास उत्पन्न भएको छ।
तीन वर्षअघि रुसले युक्रेनमा आक्रमण गरेपछि त्यस्तै भएको थियो, जसले विश्वभरका मानिसहरूको दैनिकीलाई असर गरेको थियो।
शुक्रवार अन्तर्राष्ट्रिय बजारमा प्रति ब्यारेल कच्चा तेलको मूल्य ७८ डलरभन्दा बढीमा पुग्यो। त्यस बेलादेखि, यो लगभग ७४.५० डलरमा झरेको छ, तर यो अझै पनि गत महिनाको भन्दा १० डलरले बढी छ।
ठुला भूराजनीतिक घटनाहरू र विश्वव्यापी अर्थतन्त्रको अवस्थाको प्रतिक्रियामा तेलको मूल्य सधैँ बढ्छ र घट्ने गरेको छ। इरान पेट्रोलियम निर्यातकर्ता देशहरूको सङ्गठन (ओपेक) को सदस्य हो। जसले प्रतिदिन लगभग ३३ लाख ब्यारेल तेल र इन्धन उत्पादन गर्छ र २० लाखभन्दा बढी निर्यात गर्छ।
इरान जस्तो ओपेकको सदस्य राष्ट्र आफैँ पनि युद्धमा हामीएका कारण त्यसले नेपाल जस्ता इन्धन आयातकर्ता राष्ट्रहरूलाई समेत मूल्यवृद्धिको मारमा पार्न सक्ने रोयर्टसले जनाएको छ।
यदि थप आक्रमणहरूले इरानी तेल पूर्वाधारलाई क्षति पु¥याएमा यसले विश्वव्यापी आपूर्तिमा असर पार्ने र पेट्रोल पम्पमा मूल्यहरू बढाउने सक्ने आङ्कलन गरिएको छ। इजरायली अधिकारीहरूले इरानको तेल नेटवर्क आक्रमणमा पर्न सक्छ भनेर ब्रिफिङ गरिरहेका छन्। जसको विनाशकारी प्रभाव पर्न सक्ने विभिन्न स्रोतले टाइम्स अफ इजरायललाई बताएको उल्लेख छ।