इरानले आइतबार राति इजरायलमाथि बदलास्वरुप नयाँ हवाई आक्रमण गरेको छ, जसमा कम्तीमा दुई जना घाइते भएका छन्।
इजरायलले आफ्ना युद्धक विमानहरूले पश्चिमी इरानमा मिसाइल प्रक्षेपणकर्ताहरूलाई लक्षित गरी हवाई आक्रमणको नयाँ लहर सुरु गरेको घोषणा गरेको केही समयपछि यो आक्रमण भएको हो।
इजरायली सेनाका अनुसार उत्तरी, दक्षिणी र मध्य इजरायलका साथै कब्जा गरिएको गोलान हाइट्सका धेरै क्षेत्रहरूमा हवाई चेतावनी साइरनहरू सक्रिय पारिएका थिए। जसका कारण तेल अभिभ र अन्य सहरहरूमा ठुलो विस्फोट सुनिएको थियो।
चाइना मिडिया ग्रुपका रिपोर्टर झाओ बिंगका अनुसार, इजरायल रक्षा बलले स्थानीय समय अनुसार लगभग २०ः०० बजे इरानबाट मिसाइल आक्रमणको लागि अलर्ट जारी गरेको थियो, र जेरुसेलम र मध्य इजरायलमा हवाई रक्षा साइरन बजाइएको थियो।
शुक्रवार इरानभरि आणविक सुविधाहरूलाई लक्षित गरी इजरायलले गरेको घातक आक्रमणपछि हालको तनाव बढेको हो। उक्त आक्रमणमा इरानका दर्जनौँ वरिष्ठ सैन्य अधिकारीहरू, आणविक वैज्ञानिकहरू र नागरिकहरू मारिएका थिए र बदला लिने क्षेप्यास्त्र र ड्रोन आक्रमणहरू भएका थिए जसमा इजरायलमा कम्तीमा १४ जनाको मृत्यु भएको छ।
इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता हुसेन करमानपुरले आइतबार भने कि विगत ६५ घण्टामा इजरायली हवाई आक्रमणमा २४४ जनाको मृत्यु भएको छ र ९० प्रतिशतभन्दा बढी हताहत सर्वसाधारण नागरिकहरू रहेको बताएका छन्।