नेकपा एमालेका सांसद योगेश भट्टराईले हेवा खोलामा निर्माणाधीन बेलिब्रिज पुल निर्माणको लागि छिटो पहल गर्नुपर्ने बताएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा उनले जेठ ३१ गते हेवा खोलामा निर्माणाधीन बेलिब्रिज पुल निर्माणको अन्तिम चरणमा पुगेको बेला दुर्घटनाग्रस्त भएको भन्दै यसलाई पुन निर्माण गर्न छिटो पहल गर्नुपर्ने बताए।
उनले भने, ‘जेठ ३१ गते हेवा खोलामा निर्माणाधीन बेलिब्रिज पुल निर्माणको अन्तिम चरणमा पुगेको बेला दुर्घटनाग्रस्त भएको छ। यो पुल गएको दुई वर्षदेखि बनाउने क्रममा दुर्घटनाग्रस्त हुँदै आएको छ। जसले गर्दा पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायतका जिल्लाहरूमा यातायात अवरुद्ध हुँदै आएको छ। यसपालि पनि मनसुनको सिजन आउँदै छ। सरकारले अन्तिम चरणमा पुर्याएको पुल फेरि भत्किएको छ। यसबाट स्थानीयको साथै पर्यटकहरूलाई पनि प्रभाव परेको छ। उक्त पुल पुन निर्माणको लागि छिटो पहल गर्नुपर्छ।’
उनले उक्त दुर्घटनामा त्यहाँ काम गर्ने मजदुरहरूको मृत्यु भएको भन्दै उनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली पनि व्यक्त गरेका छन्।