मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ स्थित हेवा खोलामा रहेको निर्माणाधीन बेलिबृज भाँचिदा ३ जना कामदारको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा बारा सिमरा उप-महानगरपालिका-१२ का २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी रहेका छन्। जेठ ३१ गते बेलुका बेलिब्रिज जडान गर्ने क्रममा अचानक भाँचिदा घाइते भएका कामदारहरूलाई जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकी सहितको प्रहरी टोलीले तत्काल उद्धार गरी पाँचथर अस्पतालमा ल्याई थप उपचारको लागि विराटनगर स्थित नोबेल अस्पताल पठाएकोमा डाक्टरले चेकजाँचको क्रममा तीन जनालाई मृत घोषणा गरेको हो। गम्भीर घाइते भएका बारा सिमरा उप-महानगरपालिका-१२ का २५ वर्षीय भुनेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ।