इटहरी। कोशी प्रदेश सरकारले (आज) असार १ गते आगामी आर्थिक वर्ष २०८२–८३का लागि बजेट ल्याउँदै छ।
आइतबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्षका लागि राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नुहुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्यले जानकारी दिएका छन्।
कोशीको बजेटको आकार कत्रो आउला भन्ने चासोको विषय पनि रहेको छ। कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका अनुसार आगामी आर्थिक वर्षका लागि आउने नयाँ बजेट ३७ अर्ब रुपैयाँ हाराहारीको हुने बताएका छन्। शनिवार झापामा भएको एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको बजेट आकार वर्षेनि घट्दै गएको स्पष्ट समेत पारेका छन्।
कोशीमा २०७५–७६ सालमा ४६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याइए पनि स्रोतकै कमीका कारण अहिले ३६–३७ अर्बमा सीमित हुनुपरेको कार्कीको भनाई रहेको छ।
बजेटका लागि लागि प्रदेश सरकाले आवश्यक तयारी पुरा भएको जनाएको छ। बजेट प्रस्तुतसँगै आइतबारको प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनमन्त्री रामबहादुर मगरले राजश्व र व्ययको वार्षिक अनुमान, आर्थिक विद्येक र विनियोजन विद्येक टेबल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले उल्लेख गरेको छ।
यसअघि मन्त्री मगरले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण विवरण पेस गरेका थिए। उनका अनुसार गत चैत मसान्तसम्म ११ अर्ब ११ करोड पाँच लाख राजस्व सङ्कलन भएको छ।
सङ्घीय सरकारबाट प्राप्त ९ अर्ब एक करोड अनुदानमध्ये हालसम्म ६२ प्रतिशत निकासा भएको मगरले बताएका छन्।