जल तथा मौसम विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले नेपालको भौगोलिक विविधता, सीमित स्रोत साधन, आवश्यक जनशक्तिको कमीले मौसम पूर्वानुमान गर्न कठिन भएको बताएकी छन्। 
उनले मौसम पूर्वानुमान गर्न धेरै मेहनत गर्ने गरेको भन्दै कहिलेकाहीँ पूर्वानुमान नमिल्नुको कारण धेरै रहेको बताइन्। 
उनले नेपालको भौगोलिक विविधताका कारण नेपालको मौसम र जलवायुमा विविधता हुने बताइन्। 
उनले भनिन्, ‘जति धेरै भौगोलिक विविधता हुन्छ त्यति नै धेरै मौसम पूर्वानुमान पनि चुनौतीपूर्ण हुन्छ। विभिन्न तत्त्वहरूको उपस्थितिले वायुमण्डलमा भद्रगोल रूपमा रहेको हुन्छ। आज भएको नगन्य परिवर्तनले भोलि निकै ठुलो मौसममा परिवर्तन ल्याउन सक्छ।’
उनले मौसम पूर्वानुमान गर्ने अत्याधुनिक प्रविधि नेपालमा भित्र्याउन नसकेको भन्दै भौतिक र प्राविधिक स्रोत साधनहरूको कमीले गर्दा पनि मौसम पूर्वानुमान गर्न निकै कठिन भइरहेको जानकारी दिइन्। 
‘विश्वव्यापी रूपमा प्रविधिले फड्को मार्दै गर्दा मौसम पूर्वानुमान गर्ने अत्याधुनिक प्रविधि हामीले भित्र्याउन सकेका छैनौ। नियमितरुपमा मौसम पूर्वानुमान गर्न आवश्यक जनशक्तिका साथै, भौतिक र प्राविधिक स्रोत साधनहरूको कमीले गर्दा पनि मौसम पूर्वानुमान गर्न निकै कठिन भइरहेको छ,’ उनले भनिन्। 
मौसम पूर्वानुमान नमिल्नुको अर्को कारण तथ्याङ्कको सीमितता रहेको भन्दै उनले नेपालमा उच्च पहाडी तथा हिमाली भू–भागहरूको नियमितरुपमा प्रर्याप्तरुपमा तथ्याङ्क सङ्कलन गर्न नसकिँदा मौसम पूर्वानुमान थप जटिल बनेको बताइन्। 
उनले हाल नेपाललगायत विश्वव्यापीरुपमा गणितीय मौसम पूर्वानुमान प्रणालीको प्रयोग गरी मौसम पूर्वानुमान गर्ने गरेको र तर नेपालको भूगोल सुहाउँदो एवम् आवश्यक अध्ययन अनुसन्धान नहुँदा साथै आवश्यक तथ्याङ्क प्रयोग गर्न नसक्दा नेपालको मौसम पूर्वानुमान जटिल बनेको बताइन्। 
वरिष्ठ मौसमविद् कँडेलले चुनौतीको बावजुत पनि मौसम पूर्वानुमानमा विश्वसनीय र भरपर्दो बनाउँदै लगिरहेका जानकारी गराइन्।