नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सदनमा जादुवाला नम्बर भएकाहरूबाट वर्तमान सरकारले केही गरेन भन्ने जस्तो भ्रम फैलाउने काम भएको बताएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा उनले वर्तमान सरकारले निराशाहरू चिरेर अर्थतन्त्रलाई लयमा ल्याउनको लागि विभिन्न कार्यक्रमहरू गरी अगाडि बढिरहेको भन्दै सदनमा जादुवाला नम्बर भएकाहरूबाट भ्रम फैलाउने अभिव्यक्ति आएको बताए।
उनले भने, ‘अहिलेको सरकारले निराशाहरू चिरेर आशामा रूपान्तरण गर्ने, गतिहीनतामा रहेको अर्थतन्त्रलाई लयमा ल्याउनको लागि सरकार विभिन्न कार्यक्रमहरू गरी अगाडि बढिरहेको छ। तर जनतामा निराश छाउने गरी अभिव्यक्तिहरू आइरहेका छन्। गाउँघरमा जादुगरले कागजको पत्ता राखेर हजारको नोट निकाल्छ तर त्यो सत्य होइन, त्यो केवल भ्रम हो। यो संसद्मा पनि यस्ता प्रवृत्तिहरू देखिरहेका छौ। जादुगरले कागज देखाएर पैसाको नोट निकालेको जस्तो प्रवृत्तिकै जादुवालाहरू, जादुवाला नम्बर भएकाहरूबाट यस्तो अभिव्यक्ति सुनिरहेका छौँ त्यो केबल भ्रम मात्र हो।’
यस्तै, उनले नेकपा एमाले र नेपाली काङ्ग्रेस मिलेको सरकारले केही गरेको छैन भन्दै गर्दा विपक्षी सांसदहरू सरकारमा हुँदा भएका कामहरूको पनि तथ्य तथ्याङ्क स्पष्ट रहेको बताए।