आम जनता पार्टीका अध्यक्ष प्रभु साहले भोली (शुक्रवार) बाट सुरु हुने सगरमाथा संवादको प्रभावकारितामा प्रश्न उठेको भन्दै आलोचना गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै संवादको लागि कुनैपनि देशबाट राष्ट्रप्रमुख, सरकार प्रमुख र विदेशमन्त्रीहरुको सहभागिता नहुने निश्चित भएकाले यसले कार्यक्रमको गरिमामा प्रश्न उठेको बताएका हुन्।
उनले भने, ‘भोलिबाट सगरमाथा संवाद सुरु हुँदैछ, तर संवाद सुरु नहुँदै कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ। विश्व स्तरबाट उच्चस्तरीय सहभागिता हुने भनिएको यस कार्यक्रममा अहिलेसम्म कुनै देशको राष्ट्रप्रमुख वा सरकार प्रमुख वा विदेशमन्त्री कसैको पनि सहभागिता नहुने देखिएको छ। कार्यक्रम मानव जातिको भविष्य सुनिश्चितता, पृथ्वीको भविष्य सुनिश्चितताका लागि र जलवायु परिवर्तनबाट हुने जोखिमबाट न्यूनीकरणको लागि महान् उद्देश्यबाट गरिएको हो भने ती सम्बन्धित सरोकारवाला देशलाई पनि यो विषयमा बुझाउन सक्नुपर्दथ्यो। तर आज हामी हेरिरहेका छौँ ती देशबाट सहभागिताको सुनिश्चितताको कुरा छैन। समुन्द्र पारीको त कुरा छोडिदिनुहोस्, छिमेकी देशका पनि उच्चस्तरको सहभागिता छैन। न त भारतको उच्चस्तरको सहभागिता देखिन्छ, न त चीनकै देखिन्छ। यतिसम्म कि संयुक्त राष्ट्रसंघका महासचिवको समेत उपस्थिति नहुने भएको छ। तीन सय जना सहभागिता हुने भनिएकोमा अहिले झण्डै १५० जना सहभागिता हुने भन्ने सुनिएको छ। त्यसमा पनि काठमाडौँस्थित नियोगका प्रमुख र दाता निकायका प्रमुखहरुको सहभागिताहरूको सङ्ख्या जोडेर भनिएकाले कार्यक्रमको औचित्यमाथि गम्भीर प्रश्न उठेको छ।’
साथै उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा.आरजु राणाको टकराबले गैरआवसीय नेपालीहरूको साझा संस्था एनआरएनए विभाजित गरिएको भन्दै आलोचना गरे।
उनले भने,‘एनआरएनएको एउटा समूहलाई प्रधानमन्त्रीले च्यापेर हिँडिरहनुभएको छ, अर्को समूहलाई परराष्ट्रमन्त्रीले च्यापेर हिँड्नुभएको छ। तपाईँहरू कुर्सीमा बस्दा मिलेर बस्ने, मिलेर देशलाई लिड गर्नुभएको छ कि लुट्नुभएको छ, त्यो गर्ने ? तर एनआरएनएलाई तपाईँहरूले दुई चिरा बनाइदिनुभयो। विदेशमा भएका नेपालीहरूलाई विभाजित गरिदिने र उनीहरूलाई दुःखी बनाउने, अनि तपाईँहरू मजाले कुर्सीमा बसेर मजाले एकताबद्ध छौँ भनेर देखाइरहने ? यदि तपाईँहरूमा मेल छैन भने दुनियाँलाई बताउनुहोस्। यदि मेल छ भने एनआरएनए किन फुटाउनुभयो भनेर प्रश्न गर्न चाहन्छु। अभिभावकीय भूमिका हुनुपर्दैन ? जोड्ने हो कि फोड्ने ?’