रारा तालको किनारमा रहेको मुगुको ताल्चा विमानस्थलको अवस्था चिन्ताजनक देखिएको छ।
विमानस्थलको सेवा प्रवाह एक सानो काठको टहराबाट सञ्चालनमा छ भने चौतर्फी खुल्ला भएका कारण पशु चौपाय र मानिसहरू जथाभाबी विमानस्थलभित्र प्रवेश गर्ने गरेका कारण जोखिम बढेको छ।
टर्मिनल र टावर भवन निर्माणका लागि जिम्मा लिएको ओम बुद्ध इन्टरनेशनल कन्स्ट्रक्सनले आर्थिक वर्ष २०७८।०७९ मै निर्माण सम्पन्न गर्नेगरी ८ करोड ६५ लाख रुपैयाँमा जिम्मा लिएको काम हालसम्म पूरा गर्न सकेको छैन।
भवन अधुरै र लथालिङ्ग पारेर ठेक्कादार सम्पर्कविहीन भएको स्थानीयहरूको भनाइ छ। जसका कारण यात्रु र पर्यटकहरूले सास्ती खेपिरहेका छन्।
वि.सं. २०६० देखि कच्ची धावनमार्गमार्फत हवाई सेवा सञ्चालनमा आएको विमानस्थल वि.स.०७२ मा पाँच सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालो पत्र भएर हालसम्म सञ्चालनमा छ। तर जोखिम बढ्दो छ।
विमानस्थलदेखि सडकसम्म आवतजावत गर्न वैकल्पिक बाटो नहुँदा थप समस्या भएको छ। उत्तर–दक्षिणतर्फ पहिरोको जोखिम बढिरहेको, टर्मिनल र टावर भवन निर्माण नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको स्थानीयवासीको गुनासो छ।
विमानस्थलको चारैतिर लगाइएको घेरा वार ठाउँ ठाउँमा भत्काउने, चोर्ने गरेकाले सुरक्षा चुनौती थपिएको छ। जहाज अवतरण गर्ने समयमा नेपाल प्रहरीले ठाउँ ठाउँमा सुरक्षा दिने गरेको भएपनि पशु चौपायहरु प्रवेशमा रोक्न कठिन भइरहेको विमानस्थलको सुरक्षा गार्ड कार्यालयका निमित्त प्रमुख मिल बरियाले बताए।
‘पशु–चौपायहरु एयरपोर्ट भित्र आउने गरेकाले ठुला चौपायको एक हजार र साना पशुहरूको पाँच सय जरिवाना लिने गरी निर्णय भएको तर साँझ बिहान पशु प्रवेश गर्ने गरेका छन्। ताल्चामा अहिले पुरानो काठकै भवन र टहरामा जोखिम मोलेर सेवा प्रवाह भइरहेको छ। सामान्य हावाहुरी चल्दा पनि सेवा प्रवाहमा समस्या हुने गरेको छ। ओम बुद्ध कन्स्ट्रक्सन कम्पनीको लापरबाहीका कारण भवन निर्माण हुन नसक्दा जोखिम बढेको छ,’ उनले भने।
विमानस्थल पर्यटकीय हिसाबले महत्त्वपूर्ण भएपनि घेरावारा, वैकल्पिक बाटो नहुनु, धावन मार्गको छेउछाउ वर्षेनी भासिँदै जानेको गरेको यात्रु जय बहादुर मल्लले बताए। विमानस्थलबाट दैनिक तारा, गोमा, सिता जहाजले उडान भर्ने गरेका छन्।