बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पर्याप्त अधिकार नहुँदा औद्योगिक र उद्यमशीलता विकासको काम गर्न समस्या भएको बताएका छन्। उनले आर्थिक विकासमा महत्वपूर्ण स्थान ओगटेको औद्योगिक क्षेत्र तथा उद्योगका अधिकांश अधिकारहरु प्रदेशमा प्राप्त हुन नसेकको बताएका हुन्।

मङ्गलबार हेटौँडामा भएको ‘मुख्यमन्त्रीसँग युवा संवाद’ कार्यक्रममा मुख्यमन्त्री लामाले उद्योग तथा वाणिज्य र आर्थिक विकास र उद्यमशीलताका क्षेत्रका अधिकांश अधिकार संघ सरकार मातहत रहेकाले प्रदेश सरकारलाई काम गर्न कठिन भएको बताए। 

उनले भने, ‘उद्योग क्षेत्र र उद्यमशीलताका लागि काम गर्न पनि संघीय सरकारको स्वीकृति लिएर गर्नुपर्ने बाध्यता रहेको छ। नयाँ क्षेत्रमा काम गर्न लगानी पनि बढी गर्नुपर्ने भएकाले सीमित स्रोतको परिचालनले सम्भव छैन।’

मुख्यमन्त्री लामाले हेटौँडा सिमेन्ट उद्योग र कपडा उद्योगको स्वामित्व प्रदेश सरकारले पाए नाफा आर्जन गर्ने दाबी गरे। केही समयअघि संघीय सरकारसँग सिमेन्ट उद्योग र कपडा उद्योगको स्वामित्व प्रदेश सरकारलाई दिन माग समेत गरिएको उनले बताए। 

केन्द्रिकृत मानसिकता हावी हुँदा संघ सरकारले सो उद्योगहरुको स्वामित्व दिन नचाहेको उनले बताए। ‘पुँजीको अभावमा सरकारको स्वामित्वका उद्योग रुग्ण अवस्थामा पुगेको छ। त्यो विषयमा संघीय सरकारले खासै काम गर्न सकेको देखिँदैन। स्थानीयस्तरमै उपलब्ध जनशक्ति र स्रोतको प्रयोग गरेर उद्योगलाई नाफामा लैजान सक्ने क्षमता प्रदेश सरकारसँग छ। तर, अधिकार छैन’, मुख्यमन्त्री लामाले भने, ‘हेटौँडा सिमेन्ट उद्योग प्रदेश सरकारलाई दिने हो भने २ वर्षमा नै नाफामा जान सक्छ। हामीले सो विषयमा अध्ययन अनुगमन पनि गरेका छौं। प्रत्येक वर्ष नाफा नै नाफा हुने गरी सञ्चालन गर्ने ग्यारेन्टी प्रदेशले गर्न सक्छ। संघले सो विषयको अधिकार दिनुपर्यो ।’

मुख्यमन्त्री लामाले स्थानीयस्तरकै उत्पादन प्रयोग गर्ने नीति ल्याएर कपडा उद्योगलाई पनि नयाँ ढंगले सञ्चालन गर्न सकिने बताए। युवा पलायनलाई रोक्ने योजना बनाउन प्रदेश सरकार क्रियाशील रहेको उनको भनाई छ। विज्ञान र प्रविधिसँग जोडिएको योजनालाई प्रदेश सरकारले नीति तथा कार्यक्रममा प्राथमिकता दिने उनले बताए।