नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रम सन्तुलित र व्यवस्थित ढङ्गबाट आएको बताएका छन्। 
आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा उनले अहिलेको नीति तथा कार्यक्रम मुलुकको विद्यमान आर्थिक सामाजिक परिवेशको वास्तविक सीमामा टेकेर यथार्थपरक रहेको बताएका हुन्।
उनले भने, ‘नेपाल सरकारको ०८२/८३ को नीति तथा कार्यक्रमलाई नेकपा एमाले संसदीय दलको तर्फबाट यसको समर्थन जनाउन चाहन्छौँ। सरकारले यस पटक नीति तथा कार्यक्रम संसदमा पेस गर्दा विगतको उल्टो तरिकालाई सुल्ट्याएर ल्याएको छ। सरकारले प्रस्तुत गरेको यो नीति तथा कार्यक्रम विगतको जस्तो भद्दा, छरपस्ट, कानुनको नजरमा अत्यन्तै कमजोर, स्रोतसाधनविहीन, सुन्दा कर्णप्रिय जस्तो लाग्ने छैन। अहिलेको नीति तथा कार्यक्रम मुलुकको विद्यमान आर्थिक, सामाजिक परिवेशको वास्तविक सिमाना टेकेर यर्थाथ परक, वस्तुनिष्ठ, कार्यान्वयनयोग्य हुने गरी यो नीति तथा कार्यक्रम आएको देखिन्छ।’ 
साथै उनले देशमा आजको मूल समस्या राजनीतिक र नीतिगत अस्थिरता रहेको औँल्याउँदै अहिलेको नीति तथा कार्यक्रमले सच्याउने विश्वास व्यक्त गरे। उनले नीति तथा कार्यक्रम अब देशको विकास र समृद्धिको लागि स्पष्ट मार्गदर्शन हुने पनि दाबी गरे।
उनले भने, ‘एकदमै व्यवस्थित ढङ्गबाट आएको छ, यसमा कमा र फूलस्टपपनि चेञ्ज गर्नुपर्दैन। स्पेसिफिक ढङ्गबाट नीति तथा कार्यक्रम आएको हुँदा १५५ बुँदामा रहेका नीति तथा कार्यक्रमलाई कहीँ पनि चलाउनुपर्ने देखिँदैन।’