नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति तुरुन्त सार्वजनिक गर्न माग गरेका छन्।
बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दैनिक उपभोग्य वस्तु र सिमेन्टमा पटक पटक मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम भएको भन्दै प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति गोप्य राखेर कस्तो पारदर्शिता पढाउन खोजेको हो ? भन्दै प्रश्न गरे।
उनले भने, ‘यति बेला देशमा अनियमितता बेतिथि र कुशासन व्याप्त छ। सरकारी कार्यालयहरूमा ढिला सुस्ती र खुलेआम रूपमा घुस खोरी छ। दैनिक उपभोग्य वस्तु र सिमेन्टमा पटक पटक मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम भएको छ। अर्कोतिर प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति गोप्य राखेर कस्तो पारदर्शिता पढाउन खोजेको हो ? मन्त्री र प्रधानमन्त्रीको सम्पत्ति तुरुन्त सार्वजनिक गरियोस्।
त्यस्तै, उनले मन्त्रालय जति सिंहदरबारभित्र थुपार्ने, फलामे गेटले घेरेर जेल जस्तै बनाउने, अनि जनतालाई प्रवेश निषेध गर्ने कुरा स्वीकार नहुने धारणा राखे। सिंहदरबारको गेट खुला गरेर जनतालाई सहज प्रवेश गराउन उनको माग छ।
उनले भने, ‘अहिलेको ठुलो समस्या भनेको कुशासन हो। कुशासनको जिउँदो नमुना सिंहदरबार गेट हो। त्यहाँ भएको जनताको लाइनमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। मन्त्रालय जति सिंहदरबारभित्र थुपार्ने, फलामे गेटले घेरेर जेल जस्तै बनाउने, अनि जनतालाई प्रवेश निषेध गर्ने कुरा स्वीकार छैन। गेट खुला गरेर जनतालाई सहज प्रवेश गराइयोस्।’