पर्सा सशस्त्र प्रहरीले ९ लाख ५९ हजार श्रोत नखुलेको रकम सहित तीन जना भारतीय नागरिक पक्राउ गरेको छ।
भारतबाट नेपाल प्रवेश गरिरहेको बिआर २२ पी ८३०० नम्बरको स्कार्पियो गाडीमा लुकाई छिपाइ ल्याइएको ९ लाख ५९ हजार रुपैयाँसहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो।
भारतको पश्चिम चम्पारण, बेतिया ग्राम पञ्चायत वडा नं.७ निवासी ५९ वर्षीय विजय प्रसाद, जौकटिया ग्राम पञ्चायत वडा नं.१२ निवासी ४६ वर्षीय मनोज कुमार सहनी, र छाउनी चोक ग्राम पञ्चायत वडा नं.२७ निवासी ४३ वर्षीय सन्तोष कुमार श्रीवास्तवलाई पक्राउ गरिएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता डीएसपी देवेन्द्रबहादुर सिंहले बताए।
वीरगन्ज भन्सार कार्यालयको जाँच बिन्दुको सडक नजिकबाट उनीहरूलाई पक्राउ गरिएको उनले जानकारी दिए। उनीहरूलाई सवारी साधनको पछाडिको सिटमा रहेको पकेटभित्र लुकाइएको नगद रकमसहित नियन्त्रणमा लिएको डीएसपी सिंहले बताए।
बरामद नगदसहित तीन जना भारतीय नागरिक र स्कार्पियो गाडीलाई नियन्त्रणमा लिएर वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको र कानुनी प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।