पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। एपीएफको जीतसँगै समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको हो।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शनिवार भएको पहिलो खेलमा गण्डकी प्रदेशलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफले सेमिफाइनलमा स्थान पक्का गरेको हो।
प्रतिस्पर्धात्मक खेलमा जीतसँगै एपीएफले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। पहिलो सेट १९–२५ ले गुमाएको एपीएफले दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो। यस्तै, तेस्रो सेट २३–२५ ले गुमाएको एपीएफले चौथो र पाँचौँ सेटमा पुनरागमन जित निकाल्दै सेमिफाइनल पुगेको हो।
३ अङ्कले पछि परेको अवस्थामा एपीएफले चौथो सेटमा लगातार १२ अङ्क लिँदै २५–१४ ले जित निकाल्दा खेल पाँचौँ सेटमा धकेलिएको थियो। पाँचौँ सेटमा सुरुआतबाटै अग्रता बनाएको एपीएफले १५–११ ले जित दर्ता गरेको हो।
पराजयसँगै गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएपछि घरेलु दर्शलाई निराश पारेको छ। एपीएफ पहिलो खेलमा इरानसँग पराजित भएको थियो। पहिलो खेलमा इरानसँगै गण्डकी पराजित भएको थियो। प्रतियोगितामा समूह ‘ए’ बाट इरानी टोली विजेता र एपीएफ उपविजेताको रूपमा अन्तिम चारमा प्रवेश गरेका छन्।
आजको दोस्रो खेल समूह ‘बी’ अन्तर्गत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुँदैछ। उक्त खेल नतिजाले सेमिफाइनल समीकरण टुंगो लाग्नेछ। पुलिस र भारतीय टोलीले समूह ‘बी’ मा एक एक जित दर्ता गराएका छन्। आर्मी भने जितविहीन छ।
प्रतियोगितामा ६ टीम सहभागी छन्। इरानी र भारतीय टोलीसँगै गण्डकी तथा तीन विभागीय टोलीहरू आर्मी, पुलिस र एपीएफ सहभागी भएका हुन्।