उदयपुरको कटारी नगरपालिका-६ स्थित मदन भण्डारी लोकमार्गमा मे.१ च ३०४० नम्बरको स्कारपियो गाडी दुर्घटना हुँदा गाडीमा सवार १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
वैशाख १८ गते अपराह्न चितवनबाट झापा तर्फ जाँदै गरेको स्कारपियो गाडी आफै अनियन्त्रित भई सडक साइडमा लगाएको फलामको बेरियरमा ठक्कर लागी दुर्घटना भएको थियो। 
दुर्घटनामा परी घाइते भएका उनीहरूलाई तत्काल प्रहरीले उद्धार गरी उपचारको लागी कटारी अस्पताल लगेकोमा अस्पताल पुर्‍याउनासाथ झापा दमक नगरपालिका-३ का ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको थियो।
गाडी चालक दमक-९ का ३८ वर्षीय देवेन्द्र तामाङलाई उपचार पश्चात् प्रहरीले नियन्त्रणमा लिएको छ भने घाइते भएका दमक-१० का ४९ वर्षीय राजेन्द्र प्रसाद भण्डारी, दमक-१ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, दमक-६ का ५४ वर्षीय कमल श्रेष्ठ, दमक-२ का ३८ वर्षीय नवीन खतिवडा र गौरादह नगरपालिका-१ का ५४ वर्षीय भुवन दाहाललाई थप उपचारको लागी न्यूरो अस्पताल विराटनगर पठाइएको छ।