तामाकोसी नदीको लगातार कटानको कारण देवीटार बजार क्षेत्र जोखिममा परेको छ। 
तामाकोसी नदीले रामेछाप र दोलखाको सिमानामा पर्ने मिल्ती खोलादेखि देवीटार बजार क्षेत्रसम्मका भागमा नियमित कटान गर्दै आएको छ। नदीले देवीटार फाँटको धेरै खेत कटान गरिसकेको छ। 
नदी कटानको कारण धेरैको खेत बगर बनाइसकेको स्थानीय शुक्र मगरले बताए। ‘कतिपयको खेतको चपरी पनि बाँकी छैन, उनीहरूको खेतमा झर्ने बाटो नै बन्द भइसक्यो’, उनले भने। 
२०४५ सालदेखि कटान गर्न लागेको तामाकोसी नदीले यस वर्ष निक्कै कटान गरेको स्थानीय बाबुराम पुलामी बताउँछन्। मिल्तीदेखि देवीटारसम्मको क्षेत्रमा नदीले ठुलो क्षति पु¥याएको छ। नदीले २ सय रोपनीभन्दा बढी जग्गा कटान गरिसकेको उनले जानकारी दिए। 
नदी कटानको कारण नेपाल विद्युत् प्राधिकरणको देवीटार स्वस्टेसनका विद्युत् पोलहरू जोखिममा परेका छन्। सवस्टेसन आसपासका बस्ती समेत जोखिममा पर्दै गएका छन्। ‘यो वर्ष जस्तै नदीले कटान गर्ने हो भने बस्ती पनि खसाल्छ, यस्तो हुँदै जाने हो भने सवस्टेसनको क्षेत्र समेत जोखिममा पर्न सक्छ’, मगरले भने। 
नदी कटानको कारण देवीटार बजार उच्च जोखिममा परेको छ। बजारको तल्लो क्षेत्रका घरहरू कटानको कारण जोखिममा परेका छन्। ‘यस वर्ष पुलको छेउको एउटा घर त अलिकति खसाल्यो नै, हाम्रा घरहरू पनि उच्च जोखिममा छन्, सिङ्गो बजार नै जोखिममा परेको छ’, स्थानीय महेन्द्र पुरीले भने। 
नदी कटान नियन्त्रणको लागि ठाउँ ठाउँमा पर्खाल लगाउने काम सुरु भएको छ। विगतमा पनि देवीटार फाँटको मुनी कटान गरेको ठाउँमा यस्ता पर्खालहरू लगाउने गरिएको थियो । तर नदीले त्यस्ता पर्खालहरू भत्काउँदै खेत कटान गर्दै गएको बाबुराम पुलामी बताउँछन्। नदी कटान नियन्त्रणको लागि तलदेखि माथिसम्म बलियो तटबन्धन गर्नुपर्ने उनको सुझाव छ।