नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसहितको समाजवाद नेपाली श्रमजीवी वर्गको आफ्नो मौलिक पहिचान भएको बताएका छन्।
उनले बिहीबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिँदै नेपाली विशिष्टताको समाजवाद नै श्रमजीवी वर्गको मौलिक पहिचान भएको बताएका हुन्।
‘सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसहितको नेपाली विशिष्टताको समाजवादी कार्यदिशाका साथ अघि बढ्नु आजका दिनमा नेपाली श्रमजीवी वर्गको आफ्नो मौलिक पहिचान हो। बदलिएको राजनीतिक परिवर्तनअनुरूप आम श्रमजीवी वर्गको अवस्था बदल्न पूर्ण रूपमा समर्पित बनौँ। यसमा आम आम श्रमजीवी वर्गलाई अघि बढाउन प्रण गरौँ। यही नै साँचो अर्थमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको सच्चाई हुनेछ,’ उनले भने।
प्रचण्डले आठ घण्टा कार्य दिनको मागसहित आफ्नो अधिकारका निमित्त अमेरिकाको सिकागो सहरका मजदुरहरूले गरेको सङ्घर्षलाई स्मरण गर्दै यस ऐतिहासिक दिनमा नेपालसहित विश्वका सम्पूर्ण श्रमजीवी वर्गसँग ऐक्यबद्धता प्रकट गरेका छन्।
उनले नेपालमा श्रमजीवी जनसमुदायको सङ्घर्ष र बलिदानले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कायम भएको पनि बताए।