नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले विद्यालय शिक्षा विधेयक र सङ्घीय निजामती सेवा विधेयकलगायतका धेरै महत्त्वपूर्ण विधेयकहरूलाई छिटो भन्दा छिटो अगाडि बढाउनुपर्ने बताएका छन्।
शुक्रवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले २४ दिनसम्म सडकमा रहेका शिक्षकहरूको आवाज सरकारले नसुनेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।
उनले भने, ‘छिटोभन्दा छिटो भूकम्प पीडितहरूलाई राहत, क्षतिपूर्ति र पुनर्स्थापनाको व्यवस्था गरियोस्। बजेट अधिवेशन भए पनि धेरै विधेयकहरू थुप्रिएका छन्। त्यसमध्ये विद्यालय शिक्षा विधेयक, सङ्घीय निजामती सेवा विधेयक लगायतका धेरै महत्त्वपूर्ण विधेयकहरूलाई छिटो भन्दा छिटो अगाडि बढाउनुपर्ने छ। विद्यालय शिक्षा विधेयक छिटो पास गर्न दबाब दिने उद्देश्यले शिक्षकहरू आन्दोलनको मोर्चामा छन्। २४ दिन भइसक्यो, २४ दिनसम्म पनि शिक्षकहरूको आवाज सरकारले सुनिरहेको छैन। कानमा तेल हालेर बसिरहेको छ। सरकारले आन्दोलनलाई कुहाउने प्रयत्न गरिरहेको छ। शिक्षकका आवाजहरू सुनिएका छैनन्। तपाईँ हामी सबैका गुरुहरू अहिले पनि यो चर्को गर्मीमा आन्दोलनमा छन्। म यो सरकारको यस विषयप्रति गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’
साथै उनले विद्यालय शिक्षा विधेयक वार्ता गरेर, छलफल गरेर छिटो भन्दा छिटो समाधान गर्नुपर्ने बताए। उनले सबै भन्दा ठुलो मागको रूपमा अगाडि सरिएको यो शिक्षा विधेयक अग्रगामी विषयवस्तु एजेण्डासहित पारित गर्न सरकारलाई आग्रह गरे।
उनले भने, ‘भविष्यका कर्णधारहरूको अध्ययनलाई अलपत्र पार्ने गरी, अन्योलग्रस्त हुने गरी आन्दोलनप्रति बेवास्ता गर्ने होइन। वार्ता, छलफल गरेर समस्याको छिटो भन्दा छिटो समाधान गर्नुपर्दछ। खासगरी अहिले सबैभन्दा ठुलो मागको रूपमा अगाडि सरिएको विद्यालय शिक्षा विधेयक पारित हुनुपर्छ।’