शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट आह्वान गरेका छन्।
शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै उनले नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिलाई सरकारको तर्फबाट हार्दिक आह्वान गरेका हुन्।
यस्तै, उनले विद्यालय शिक्षा विधेयक निर्दिष्ट समयमा पारित गर्ने वातावरण सिर्जना गर्दै शिक्षकहरूको हकहित प्रवर्द्धन गर्न उपयुक्त निकास निकाल्न सदैव प्रयत्नशील रहेको बताए।
उनले शिक्षक प्रतिनिधिहरूसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकाले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने शिक्षक तथा कर्मचारीको चासो र अपेक्षा रहनु स्वभाविक रहेको भन्दै शिक्षकहरूको हकहित प्रवर्द्धन गर्न सदैव प्रयत्नशील रहेको बताए।
विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रतिनिधिसभामा पेस भई छलफलको प्रक्रियामा रहेकोमा उक्त विधेयकलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट विभिन्न ध्यानाकर्षण कार्यक्रम सञ्चालन हुँदै आएको विषयप्रति ध्यानाकर्षण भएको पनि उनको भनाई छ।
मन्त्री पन्तको प्रयासपछि शुक्रवार नै आन्दोलनरत शिक्षक महासङ्घ र मन्त्रालयबीच वार्ताको तयारी सुरु गरिएको छ। दुवै पक्षले वार्ता टोली बनाउने र शुक्रवार साँझसम्म वार्ता गर्ने बुझिएको छ।
