संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भूकम्पपछि बनेका सम्पदाहरू परम्परागत शैलीमै निर्माण गरिएको बताएका छन्। 
शुक्रवार अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौँ उपत्यका विश्व सम्पदाको क्षेत्र) को तेस्रो वार्षिक बैठकको उद्घाटन गर्दै मन्त्री पाण्डेले सम्पदा भनेको सभ्यताको पहिचान भएको बताएका हुन्।  
उनले भने, ‘यी हाम्रा परिचयका प्राण तत्त्व पनि हुन्। यसमा केबल भौतिक वस्तु मात्रै होइन, अभौतिक वस्तु समेत रहेको छन्। त्यसैले हाम्रो इतिहास छ। हाम्रो इतिहास दर्बिलो छ। भूकम्पपछि ढलेका सम्पदाहरूको पुरातात्त्विक संरचना पुनः निर्माण परम्परागत शैलीमै गरिएको छ।’ 
उनले थप भने, ‘ललितपुरमा पनि कला जीवित छ। भक्तपुरमा पनि जीवित छ। काठमाडौँमा जीवित छन्। अरनिको अहिले पनि जीवित छन्। त्यसैले हामीले हाम्रो गौरवलाई जोगाएर संरक्षण गर्दै जाने र पुस्तान्तरण गर्दै जाने हो। युनेस्कोको सम्पदा सूचीमा सम्पदालाई जोड्न खोज्छौँ। त्यसैले हाम्रा सम्पदाहरू विश्वव्यापी छन्।’ उनले सम्पदा जोगाउने भनेकै त्यहाँको स्थानीयको भएको बताए। 
मन्त्री पाण्डेले स्थानीयको सहभागिता विना सम्पदाहरूको संरक्षण गर्न नसकिने बताए। उनले भूकम्पका कारण थुप्रै सम्पदाहरू ढलेको भन्दै अहिले ती सम्पदाहरू उठ्ने क्रममा रहेको बताए। 
उनले भने, ‘भूकम्पपछि ढलेका सम्पदाहरू उठ्ने क्रममा छन्, ती उठ्नु सँगसँगै विश्वास पनि उठेको छ। हाम्रा आस्था पनि उठेका छन्। र हाम्रो आत्मविश्वास पनि उठेको छ। हामी गर्न सक्छौँ, भूकम्पको दश वर्ष मनाइरहँदा दश वर्षको समीक्षा समेत गर्न जरुरी छ।’ 
मन्त्री पाण्डेले काठमाडौँ भित्रका थुप्रै हनुमान ढोका, बौद्ध, पशुपतिनाथ, कृष्ण मन्दिरलगायतका सम्पदाहरूको सङ्ग्रह र व्यवस्थित गर्नुपर्ने औँल्याए।